देउसी भैलोमा सङ्कलित दुईलाख सडक निर्माणमा

म्याग्दी (बेनी) । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकम सडक निर्माणमा सहयोग गरेका छन् । तिहारको अवसरमा स्थानीय हिमाली आमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट दुई लाख गाउँमा सडक निर्माण गर्ने योजनामा सहयोग गरेका हुन् ।
गुर्जा म्याग्दीमा सडक सञ्जालको पहुँच नपुगेको एक मात्रै वडा हो । देउसी भैलोमा सङ्कल नभएको चार लाख नौ हजार रकममध्ये दुर्गम र विकट बस्तीको रुपमा परिचित गुर्जा गाउँमा सडक सञ्जालको पहुँच पुर्याउने योजनालाई दुई लाख सहयोग गरिएको आमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताइन् । गाउँमा छिटो मोटरबाटो जोडियोस भन्ने उद्देश्यले आमा समूहको बैठकबाट निर्णय गरेर उक्त सहयोग गरिएको उनले जानकारी दिइन् ।
आइतबार आयोजित एक कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्यद्धय गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गरेका छन् । आमा समूहले मौलिककला र संस्कृतिको जगेर्नाका लागि सञ्चालन गरेको मौलिक देउसी भैलोबाट सङ्कलन गरेको दान रकमलाई सडक निर्माणको लागि सहयोग गरी नमूना काम गरेको वडा सदस्य गुनराम छन्त्यालले बताए ।
चालु आर्थिक वर्षभित्र गुर्जा गाउँमा सडकको पहुँच पुर्याउने लक्ष्यकासाथ गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएको बजेटलाई परिचालन गर्ने तयारी गरिएको गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
उनका अनुसार लुलाङ-गुर्जा सडकका लागि यसवर्ष सङ्घीय सरकारले समपुरक बजेटबाट एक करोड ४० लाख, गाउँपालिकाले समपुरक साझेदारी बजेट ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया