हिमपात हुँदा किसान र पर्यटन व्यवसायी उत्साहित

मुस्ताङ । जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा यस वर्ष कात्तिकमै हिउँ परेको छ । आज बिहानदेखि परेको हिउँ निरन्तर परिरहेको छ । अक्सर मङ्सिर महिनाको अन्त्यतिर पर्नुपर्ने हिउँ कात्तिकमा नै परेको हो ।
मुस्ताङवासीले केही वर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएनन् । जसका कारण यहाँको कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक असर पुर्याएको थियो । यहाँ यस वर्ष समून्द्री सतहको तीन हजार मिटरमाथिको उचाइमा हिमपात भएको हो । मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती तथा उच्चलेकमा हिमपात भइरहेको छ ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर र त्यसआसपासका क्षेत्रमा हिउँ पर्ने क्रम रोकिएको छैन । वारागुङ मुक्तिक्षेत्र-३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीमा निरन्तर वर्षा भइरहेको छभने बस्तीदेखि माथिका उच्चलेकमा हिउँ परेको छ । मनाङ हुँदै थोरङलापास पदमार्ग, जोमसोम, ठिनी हुँदै तिलिचो जाने नमुखलेकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरि आइसफलको धम्पुस पिक पदमार्गलगायत स्थानमा बाक्लो हिउँ पर्दा पदमार्ग अवरुद्ध भएका छन् ।
उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारीसाधन जान सकस छ । स्थानीय प्रशासनले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्नसमेत आग्रह गरिसकेको छ । यहाँको मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरु सकसमा परेका छन् । वर्षासँगै हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीलाई हिउँले सास्ती पुर्याएको छ ।
मुक्तिनाथ पुगेका दर्शनार्थी हिमपातसँगै चिसो अत्यधिक बढेका कारण र स्नानकुण्डमा हिउँ जमेका कारण स्नान गर्ने र १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्नसक्ने अवस्था नरहेको बताइएको छ । जसोतसो मुक्तिनाथ दर्शन गरी फर्किएका सवारीसाधन तथा यात्रु सडकमा जमेको हिउँका कारण खिङ्गाबाट तल झर्न सक्ने अवस्था नरहेको वारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रवेश गुरुङले जानकारी दिए ।
यहाँको प्रहरी प्रशासनले पनि कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्नु भनेर अनुरोध गरेको बताइएको छ । अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजीवन प्रभावित भए पनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको प्रशासनको भनाइ छ ।
वडाध्यक्ष गुरुङले हिमाली क्षेत्रमा अनुकूल समय हिमपात हुनु स्वाभाविक भए तापनि यस वर्ष कात्तिकमै हिउँ पर्दा आश्चर्य तुल्याएको बताए । हिउँले कृषि, पर्यटन र पशुपालन क्षेत्रलाई फाइदा पुग्ने भए पनि बाक्लो हिमपातका कारण स्याउलगायतका बोटबिरुवालाई आंशिक क्षति पुर्याएको वडाध्यक्ष गुरुङको भनाइ छ ।
मुस्ताङमा स्याउको पोस्ट हार्भेस्ट अन्तिम चरणमा पुगेको छ । स्याउको पोस्ट हार्भेस्ट सकिएलगत्तै मङ्सिरमा यहाँका स्याउका बोट पात झरेर उजाड हुन्छन् ।
यस वर्ष कात्तिकमा नै परेको हिउँले उच्चलेकको चरन क्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुने भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्रका प्रमुख डा लालमणि अर्यालले जानकारी दिए । जलवायु परिवर्तनका कारण अनुकूल समयमा हिउँ नपर्दा उच्चलेक चरन क्षेत्रमा घाँस पलाउन छोडेको र अनधिकृत घाँस पलाउने गर्दा पशुपालन व्यवसाय सङ्कटमा पर्दै गइरहेकामा यस वर्षको हिउँले पशुपालकका लागि चरन क्षेत्र सहज हुने अपेक्षा उनले गरे ।
अनुकूल मौसममा हिउँ नपर्दा उच्चलेकका वन्यजन्तु आहाराको खोजीमा बस्ती नजिक आउने गर्दा मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेको थियो । चरन क्षेत्रमा पर्याप्त मात्रामा घाँस पलाउन सकेमा पशुपालक र वन्यजन्तुका लागि राम्रो हुने डा अर्यालले उल्लेख गरे ।
यसैगरी यस वर्षको हिमपातले यहाँ स्याउलगायत अन्नबालीलाई राम्रो फाइदा पुग्ने कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङको भनाइ छ । स्याउ हार्भेस्ट सकेर अर्को महिना स्याउ बगैँचा व्यवस्थापन गर्ने पूर्वसन्ध्यामा परेको हिउँ किसानका लागि बरदान साबित भएको केन्द्र प्रमुख गुरुङको भनाइ छ । उनका अनुसार हिमपातले कृषकको अन्नबाली उत्पादन गर्ने जमिनको माटोलाई मुलायम बनाउने र यसले जमिनको भित्री तहसम्म ‘रिचार्ज’ गर्ने भएकाले कृषि उपजका लागि हिउँ पर्नु शुभ सङ्केत मानिएको उनको भनाइ छ ।
हिउँदयामको पूर्वसन्ध्यामा परेको हिउँले स्याउ, उवा, फापर, जौ, मकैलगायतका अन्नबाली उत्पादनमा सिँचाइको काम गर्ने जनाइएको छ । हिउँले यहाँको रैथानेबालीमा लाग्ने रोगकिराको सङ्क्रमणलाई समेत न्यूनीकरण गर्ने भएकाले उत्पादन क्षमता पनि अभिवृद्धि गर्ने केन्द्र प्रमुख गुरुङको भनाइ छ ।
यस वर्ष थप दुई÷तीन पटक यही हिसाबले हिउँ परेमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न सकिने मुक्तिनाथस्थित होटल ग्रान्ड साम्वलाका सञ्चालक सुरज गुरुङले जनाए । विगत तीन वर्षदेखि मुस्ताङमा राम्ररी हिउँ नपर्दा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न नसकिएको सञ्चालक गुरुङको भनाइ छ । नेपाल स्की सङ्घले तीन वर्षअघि लगातार तीन संस्करणमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न गरिसकेको गुरुङले जानकारी दिए ।
यहाँ भइरहेको हिमपातले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गर्नुभयो । हिउँ खेल्न र हिउँसँगै रमाउन पर्यटक मुस्ताङ आउनसक्ने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने अध्यक्ष ठकुरीको भनाइ छ ।

प्रतिक्रिया