बीस हजारबाट व्यवसाय सुरु गरेका चौधरी करोडका मालिक

नेपालखोज २०८२ कार्तिक १३ गते ११:२६

तनहुँ । बीस हजार लगानीबाट सुरु गरेको व्यवसाय हाल करोडको जायजेथामा परिणत भएको छ । नवलपरासीका विष्णुकुमार चौधरीले १६ वर्ष दमौलीमा ढाकाको व्यवसाय गरेर करोडको सम्पत्ति जोडेका हुन् ।

व्यास नगरपालिका-२ मा २०६६ माघमा स्थापना भएको निखिल ढाका कपडा उद्योगमार्फत उनी सफल उद्यमी बनेका छन् । ढाका उद्योगमा उनले २५ जनालाई रोजगारी दिएका छन् । हाल उनको उद्योगमा रु एक करोड बढीको लगानी छ ।
ढाकाबाट उत्पादन गर्न सकिने विभिन्न परिधानबारे प्रशिक्षणका सिलसिलामा दमौली आएका उनले २० हजार लगानी गरी व्यवसाय थालेको राससलाई बताए ।

उनले भने, ‘पछिल्लो समय अपेक्षा गरिएअनुरुप व्यापार नभए पनि ढाकाको साडी र कोटतर्फ युवायुवतीको आकर्षण बढ्दै गएको छ’, ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य परिधान बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको गएको उनको भनाइ छ ।

ग्राहकको मागसँगै ब्लाउज, टोपी, पछ्यौरा, चौबन्दी, दौरा सुरुवाल, पाल्पाली ढाकाटोपी, तेह्रथुमे साडीको राम्रो व्यापार हुने गरेको उनले बताए । यहाँ उत्पादित ढाकाका सामग्री जिल्लामा मात्र सीमित छैनन् लमजुङ, गोरखा, तेह्रथुम, नारायणगढ, नवलपरासी, काठमाडौं लगायत स्थानबाट माग हुने गरेको छ ।

यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयहरूले ढाकाको कपडा किन्ने गरेका छन् ।

प्रतिक्रिया