पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक पाँच लाख आम्दानी

नेपालखोज २०८२ कार्तिक १६ गते ८:५०

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

डेढ दशकदेखि तरकारीखेतीमा संलग्न ती समुदायले तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि हरेक वर्ष खेती विस्तारमा जोड दिएका छन् । यहाँका नाथुराम रानाले डेढ दशकअघि ७५ बोट भन्टाबाट सुरु गरेको तरकारीखेती गाउँकै पहिचान बनेको छ ।

तरकारी बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १५ कट्ठा क्षेत्रफलमा तरकारीखेती विस्तार गरेको बताए । तरकारीखेतीबाट वार्षिक रु पाँच लाख आम्दानी गरिरहेका रानाबाट पे्ररित भएर गाउँका अन्य ४० राना परिवारसमेत अहिले तरकारीखेतीबाटै आत्मनिर्भर छन् ।

गाउँका बारी-बारीमा भन्टा, टमाटर, बन्दा, काउली खुर्सानीलगायतका हरिया तरकारी फस्टाएका छन् । यसै खेतीबाट गाउँलेहरू राम्रो आम्दानी गर्दै जीविकोपार्जन गरिरहेको राना बताउँछन् । भन्टाबाट तरकारीखेतीमा भविष्य देखेका रानाले दोस्रो वर्षदेखि बन्दा, काउली, खुर्सानीलगायत तरकारीखेती विस्तार गर्दै लगिएको छ ।

अहिले खेती विस्तार गरेर पन्ध्र कट्ठामा तरकारीखेती गरेर वार्षिक पाँच लाख आम्दानी हुने गरेको राना बताउँछन् । खेती विस्तार गरेपछि आम्दानी पनि बढ्न थाल्यो । छयालीस परिवारको बसोबास रहेको नयाँ कटानमा ४० परिवार व्यावसायिक तरकारीखेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका बन्धु रानाले पनि धान भित्र्याएर हिउँदे तरकारीखेतीमा लागेका छन् ।

हाँले हिउँदमा तरकारी बिक्री गरेर पाँच लाखसम्म आम्दानी हुने गरेको बताए। अन्य बालीभन्दा तरकारीखेतीमा तीन गुणासम्म फाइदा हुने भएकाले सिङ्गो गाउँ नै तरकारीखेतीमा लागेको उनको भनाइ छ ।

पछिल्लो समय तरकारीखेतीसँगै रानाथारू घरबास (होमस्टे)समेत सञ्चालन गरेर रानाथारू समुदाय आत्मनिर्भर बनेको छ । तरकारीखेतीसँगै गाउँमा होमस्टे सञ्चालन गरेपछि यहाँका स्थानीय आत्मनिर्भर बनेको रानाथारू होमस्टेका अध्यक्ष पर्शुराम रानाले बताए । उनले तरकारीखेती र होमस्टे दुवैबाट आय वृद्धि भएसँगै गाउँ अहिले आत्मनिर्भर र उदाहरणीय बस्तीका रूपमा परिचय बनाउन सफल भएको बताए ।

प्रतिक्रिया