हनुमान ढोका दरबार भित्रको जलशयन नारायण

काठमाडौं । केही वर्ष अगाडि हनुमानढोका दरवार भित्र रहेको जलशयन नारायणको दर्शन गर्ने सौभाग्य पाएको थिएँ ।
शिवपुरी डाँडा नजिकै रहेको बुढानिलकण्ठको दर्शन राजाहरुले गर्न नहुने तथा दर्शन गरिएमा मृत्युु हुने भन्ने किंवदन्ती रहेको हुँदा राजा प्रताप मल्लले उस्तै नारायणको मुर्ति बनाएर हनुमानढोका दरवार भित्र राख्न खोजिए पछि सपनामा राजालाई उस्तै मुर्ति नबनाउन लगाएका थिए ।
यसर्थ राजा प्रताप मल्लले सोह्रौं शताब्दीमा ज्ञानेश्वरमा भएको नारायणको मुर्ति जस्तै मुर्ति हनुमानढोका दरवार भित्र बनाएर नियमित दर्शन गर्न थालेका थिए । मल्ल राजाहरु मात्रै होइन शाह राजाहरुले पनि मृत्युको डरले बुढानिलकण्ठको दर्शन गर्ने आँट पनि गर्न सकेनन् ।
उपत्यकामा जलमा सुतेका तीनवटा नारायण रहेको छ । पहिलो सातौं शताब्दीमा लिच्छवि राजा विष्णु गुप्तले शिवपुरी डाँडाको काखमा निर्माण गरेको बुढानिलकण्ठ नारायण, दोश्रो नागार्जुन डाँडाको काख (बालाजु)मा रहेको बालनिलकण्ठ नारायण र तेश्रो सोह्रौं शताब्दीमा राजा प्रताप मल्लले हनुमानढोका दरवार भित्र निर्माण गरेको जलशयन नारायण ।
यो मुर्ति तलेजु भवानी मन्दिर नजिकै भएको तथा राजाले मात्रै दर्शन गर्ने हुँदा सर्वसाधारणलाई दर्शन गर्न रोक लगाइएको थियो । उहिले हनुमानढोका दरवार वरपर अग्ला घर बनाउन पनि दिइएको थिएन । हाल भने केही घरबाट जलशयन नारायणको मुर्ति देख्न सकिन्छ । तर नदेखियोस भनेर पालले छोपेर राखिएको छ ।
नाम जलशयन नारायण भनिए पनि जल नभएको निकै वर्ष भइसक्यो । जलशयन नारायण रहेको पोखरी कुनै बेला ठूलो थियो र भण्डारखालपोखरी तथा नारायण पोखरीका नामले चिनिन्थ्यो । तर अहिले नारायण पोखरी निकै साँघुरिएको छ । यसको पूर्वी भाग तथा उत्तरी भाग निजी सम्पति भइसकेको छ । पानी नभए पछि पोखरी जिर्ण भइसकेको थियो । २०६८ सालमा पूननिर्माण गरिए पछि अहिले भने पोखरी राम्रै देखिएको छ ।
बालनिलकण्ठ नारायण ९ वटा नागहरु माथि शयन गरेको देखिन्छ भने बुढानिलकण्ठ नारायण ११ वटा नागहरु माथि शयन गरेको देखिन्छ । तर चार हात भएको जलशयन नारायण भने १३ वटा नागहरु माथि शयन गरेको देख्न सकिन्छ । जसमा एघार वटा नागको शिरले नारायणको शिरको रक्षा गरेको देखिन्छ भने दुई शिर अन्य भन्दा उचा फन उठाएको देख्न सकिन्छ ।
यस नारायणको मुर्तिको उत्तर र पूर्व तर्फ दुईवटा ढुङ्गेधारा देख्न सकिन्छ जुन प्रताप मल्लले नै बनाएका थिए । हरेक नारायणको मुर्ति नजिकै गरुडको मुर्ति रहे झै यस नारायणको नजिकै पनि गरुडको मुर्ति देख्न सकिन्छ ।








प्रतिक्रिया