हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौं । फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुन् । सन् १९५२ मा फ्रान्समा जन्मिएका उनले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आएका छन् ।
चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, संस्कृतिको सौन्दर्य र चुनौतीलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा ‘हिमालय क्याराभान’ नामक चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र अन्तरराष्ट्रिय रूपमा अत्यधिक प्रशंसित भएको थियो, जसले विश्व प्रसिद्ध ओस्कार अवार्डका लागि मनोनयनमा परेको थियो । उनले त्यसअघि निर्माण गरेका डकुमेन्ट्रीहरू, हनि हन्टर्स, नेपाल बियोन्ड द क्लाउड्स, हिमायन गोल्ड रसलगायत सिर्जनाहरुले नेपालको हिमाली जीवन र वातावरणको गहिरो अध्ययन गरेका छन् । उनका फोटोहरू नेशनल जियोग्राफी, जियो म्यागेजिन र अन्य प्रमुख अन्तरराष्ट्रिय प्रकाशनहरूमा प्रकाशित भएका छन् ।
नेपालसँग उनको सम्बन्ध भावनात्मक रहेको देखिन्छ । उनले नेपालका हिमाली जनजीवन, प्राकृतिक सुन्दरता, र स्थानीय परम्पराप्रति गहिरो प्रेम व्यक्त गर्दै नेपाललाई ‘दोस्रो घर’को रूपमा लिएका छन् । केही वर्षयता खासगरी तराई-मधेसमा मनाइने छठ पर्वका बारेमा विशेष अभिरुची राख्न थालेका एरिक यसलाई नेपालको अर्को विशिष्ठ पर्वको रुपमा अथ्र्याए । यहाँका सांस्कृतिक मूल्य र सरल जीवनशैलीबाट सधैँ प्रेरित भएका बताउने निर्देशक भ्यालीले पछिल्लो समय वातावरणीय संरक्षण, ग्रामीण पर्यटन र सामुदायिक विकासका क्षेत्रमा पनि सक्रियता देखाउँदै आएका छन् । यसै सन्दर्भमा उनी नेपाल आएको समय पारेर उनीसँग राससको श्रव्यदृश्य स्टुडियोमा रासस समाचारदाताद्वय भीष्मराज ओझा र सिर्जना राईले गरेको कुराकानी :
तपाइँ लामो समयदेखि नेपाली संस्कृति, समाज र जीवनशैलीसँग साक्षात्कार हुनुहुन्छ । नेपालसँग तपाईको सम्बन्ध कहाँबाट कसरी सुरु भयो ? यति लामो समय तपाईलाई नेपालको के विषय ले जोडिरहेको छ होला ?
नेपाल मेरो ‘लभ एट फ्रस्ट साइट’ हो । एक शब्दमा भन्दा, प्रेम । पहिलोपटक म सन् १९७३ मा नेपाल आएको थिएँ । बनारसी बाटो हुँदै आएको याद छ । हाइकिङ गरेर, ठूलो टाटा ट्रकको छतमा बसेर आएको थिएँ । पहिलोपटक नेपाल भित्रिदै गर्दाको अनुभव म सायदै बिर्सिन सक्छु ।
यहाँका आर्कषक पाखोबारी, चिटिक्क आकारका रातो र सेतै लिपिएका घरहरु र ती घरहरु पछाडि देखिने अद्भूत हिमालहरुको दृश्यले मेरो मुटुको ढुकढुकी बढेको थियो । झण्डै ५० वर्षअघि यहाँको भूगोल र जीवनशैलीको दृश्यले मेरो ‘लभ एट फ्रस्ट साइट’ बन्यो नेपाल ।
म फ्रान्सेली नागरिक हुँ । मेरो देश पनि राम्रो छ । धेरै वर्ष फ्रान्सको पट्यारलाग्दो बसाईपछि नेपालसँगको अनुभव मेरा लागि अदभूत बन्न पुग्यो । नेपालको यात्राका क्रममा अप्ठ्यारा र अनौठा लाग्ने बाटाहरु नै रोचक अनुभूतिको सुरुआत बन्यो । नेपाल आइसकेपछि यहाँको संस्कृति मेरा लागि नयाँ संस्कृतिको खानीजस्तो भयो । यो देशसँगको प्रेमानुभुूति सधैँ रहिरहनेछ । म अहिले ७३ वर्षको उमेरमा छु । विगतलाई फर्केर हेर्दा यहाँको सबै कुराले मलाई प्रेममा पारिरहेको छ ।
तपाईको फिल्म ‘क्याराभान’ छायाङ्कन गरिएको डोल्पो, त्यहाँका समुदाय र संस्कृतिसँगको पहिलो भेटलाई कसरी स्मरण गर्नुहुन्छ ?
डोल्पो मेरो लागि अर्को सुन्दर प्रेम कथा हो । सन् १९८१ तिर म पहिलोपटक डोल्पा पुगेको थिएँ । जतिबेला नेपाल सरकारले मलाई प्रवेश दिएको थिएन । किनकी विदेशीका लागि डोल्पा निषेधित जस्तो थियो । म डोल्पा पुग्ने बित्तिकै मैले जिन्दगीको अविष्मरणीय सांस्कृतिक झट्का (कल्चरल सक) महसुस गरेँ किनभने त्यो समयको डोल्पो बाहिरी दुनियासँग अभ्यस्त थिएन, ‘अनट्च्ड’ थियो भनौं । मलाई त्यो विषय चाखलाग्दो बन्यो । मलाई नेपाल मन पर्नुको कारण डोल्पाको विशेष संस्कृति पनि हो । मेरो साथी थिन्ले (क्याराभानः हिमालय चलचित्रका मुख्य पात्र) को घरमा धेरै समय बसे, उनीसँग डोल्पा घुम्ने र बुझने काम भयो । उनैको प्रस्तावमा मैले फिल्म बनाएको हुँ ।
मैले उनलाई चलचित्रहरु देखाएको थिएँ, उनले मलाई ‘डोल्पो संस्कृतिको पुस्तक मात्र, चलचित्र किन नबनाउने ?’ भन्ने सुझाव दिए । त्यसपछि मलाई रोचक लागेको डोल्पोसँगै थिन्लेको जीवनशैली, कथा, संस्कृति र संघर्षबारे गहन अध्ययन गरेर ‘क्याराभानः हिमालय’ निर्माण सुरु गर्याै । डोल्पावासीहरुको जीवनशैली प्रकृतिसँग निकट र निर्भर थियो । ढुङ्गाबाट बनाइएका घरमा बस्ने उनीहरु आफैँले बुनेका कपडा प्रयोग गर्दथे । सुन्दर डोल्पाका बासिन्दाहरुको जीवनशैली कठिनाइपूर्ण थियो तर उनीहरु निकै बहादुर र परिश्रमी थिए । साँच्चैभन्दा नेपाल कला, संस्कृति, भाषा, संस्कार र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
नेपालको हरेक नयाँ ठाउँमा पुग्दा अध्ययनका लागि अझ धेरै बाँकीजस्तो छ । धेरै खोज अनुसन्धान गर्न सकिने ठाउँ हो, नेपाल । डोल्पोको अध्ययन गर्न चाखलाग्दो ठाँउ थियो । जहाँ मैले फिल्म बनाउने क्रममा सहकर्मी मात्र नभई साथीको रुपमा सम्बन्ध विकास गरेँ । म अझै पनि उनीहरुसँग सम्पर्कमा छु ।
एउटा प्रसङ्ग सुनाइहालौँ । उत्तर डोल्पामा यात्राका क्रममा मेरो जुत्ता च्यातियो । नयाँ जुत्ता बनाउन जुत्ता बनाउने स्थानीयसँग आग्रह गरेँ । याकको छालाबाट बन्ने जुत्ताको साइज र शुल्कलाई लिएर उनीसँगको संवाद मलाई अझै पनि रमाइलो लाग्छ । उनले भनेँ, यति ठूलो जुत्ता अहिलेसम्म बनाएको छैन तर बनाउन सक्छु । मैले शुल्क सोधेपछि उनले भने, चालिस पाथी पिठो दिनुहोस् । मैले उनलाई आफूसँग पिठो नभएकाले पैसा दिने प्रस्ताव गरेँ । उनले भनेका थिए, तिम्रो पैसाले केही गर्न सक्दिन, मलाई पिठो देउ । अन्ततः मैले पिठो किनेर उनलाई दिएपछि मात्र जुत्ता बन्यो । हो, त्यो समय भिन्न थियो । र म त्यो पुरानो डोल्पासँग अत्यधिक प्रेममा थिएँ । त्यो समयको डोल्पो चुनौतीपूर्ण पनि थियो । बिरामी भए सहज उपचार पाउन सकिने अवस्था थिएन । जीवनशैली सहज थिएन । म फेरि पनि भन्छु, उनीहरु बहादुर मात्र थिएनन्, बलियो आत्मसम्मानसहित बाँच्दथे ।
यो पचास वर्षअघि र पछिको डोल्पोमा के भिन्नता देख्नुभएको छ ?
पचास वर्षपछिको डोल्पोमा धेरै कुरा बिलाएर गएको छ । सडक पुगेपछि डोल्पो फेरिएको छ । मैले ५० वर्षअघि चिनेको डोल्पो र अहिलेको डोल्पोमा धेरै भिन्नता छ । चेप्टो छानो छाएका घरहरु देखिने डोल्पो सुक्खाजस्तो थियो । विश्वव्यापी मौसम परिवर्तनले होला, अहिले वर्षा हुने रहेछ । लोपोन्मुख, मौलिक र चाखलाग्दो भौतिक संरचना र वास्तुकला अब प्रयोगमा छैनन् । जलवायु परिवर्तनको असरजस्तो देखिन्छ । पछिल्लो समय नेपाली युवायुवतीहरुले विदेशिने क्रम बढेसँगै त्यसको प्रभाव डोल्पोमा पनि देखेँ । गउँहरु रित्तिएका छन् । गाउँमा वृद्धहरु मात्र छन् । जलवायु परिवर्तनको प्रभाव त छ, त्यो भन्दा धेरै रोजगारीको खोजीमा युवाहरु विदेश पलायन मुख्य समस्याका रुपमा देखेको छु । ऊर्जाशील जनशक्ति नै बाहिर गएपछि नेपालको विकास कसरी हुन्छ होला ! यसतर्फ गम्भीर भएर यहाँको सरकारले सोच्नु आवश्यक छ ।
विदेशी निर्देशकका रुपमा तपाईलाई आफनोे फिल्ममा नेपाली संस्कृतिलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न कति सहज थियो ?
म पेसाले सिकर्मी हो, फिल्म मेरो रुचि थियो । विदेशी निर्देशकका रुपमा मैले यहाँ अलिक बढी दुःख गरेँ । म आफनो कामसँग मात्र हैन, यहाँको संस्कृति र समुदायसँग पनि उतिकै इमान्दार छु । यो देश र संस्कृतिसँगको प्रेमले फिल्म बनाउन सहयोग पुग्यो । फिल्म बनाउनुपर्छ भने हामीले विषयवस्तुको बारे थाहा पाउनुपर्छ । फिल्म खिच्नुअघि नै गहन अध्ययन आवश्यक छ । राम्रो स्क्रिप्ट लेख्नुपर्छ । हिमालय, क्याराभानको स्क्रिप्ट लेख्नका लागि मात्र पनि तीन वर्ष अध्ययन गरेका थियौँ । गहन अध्ययनले आफनो कथा, पात्रप्रतिको बुझाइ बढ्छ र आफैँ बाटो खुल्छ ।
साथी थिन्लेले भनेको अझै पनि स्मरण छ, हाम्रो संस्कृति पनि हिऊँ जस्तो बिलाउँदैछ, मैले जवाफमा भनेको थिएँ, फ्रान्समा पनि मेरो संस्कृति बिलाउँदैछ । अहिले त अझ विश्वव्यापीकरणले सबै कुरा परिवर्तन हुँदैछ । हरेक संस्कृतिमा यस्ता विशेषता हुन्छन्, जसलाई संरक्षण गर्नैपर्छ, अभिलेखीकरणको आवश्यकता छ । किताब लेखेर होस् वा फिल्म निर्माण गरेर, त्यसलाई बचाइरहनुपर्छ । डोल्पोको कथा लेख्दै गर्दा त्यो फिल्म विश्वकै अन्तिम क्याराभान बन्न पुग्यो । वास्तवमै त्यो ठूलो दायित्व थियो । बहुत चुनौती र जटिलता थियो ।
नेपाली निर्देशकद्वारा निर्देशित नेपाली फिल्महरु विश्व समुदायमा पुर्याउनका लागि तपाईकोे सुझाव के छ ? नवनिर्देशकहरुले ध्यान दिनुपर्ने विषयहरु के हुन् ?
हिमालय क्याराभानको स्क्रिप्ट लेख्दै गर्दा म नेपाली संस्कृतिलाई झल्काउनुपर्नेमा पूर्ण सचेत थिएँ । तर त्यसलाई विश्वव्यापी बनाउन, अन्तरराष्ट्रिय दर्शकसम्म कसरी पुर्याउने भन्नेमा पनि उतिकै सचेत थिए । मैले ‘युनिर्भसल’ कथा नै निकाल्नुपर्ने थियो । संस्कृति मात्र देखाउने हो भने त्यसलाई बुझ्ने दर्शकमा सिमितता हुन्छ । क्याराभानको कथा नै एउटा वृद्ध र युवाबीच (जेनेरेसन कन्फ्लिक्ट) पुस्तागत द्वन्द्व र सङ्घर्षमा आधारित हो । त्यसैले फिल्ममा नेतृत्वका लागि दुई पुस्ताबीचको सङ्घर्ष देखाइएको छ, जुन संसारका सबै दर्शकले बुझने र आकर्षित गर्ने कुरा हो । क्याराभान निर्माण सानो मेहनतले सम्भब भएको हैन । समुदायबाटै पात्र छनोट काम पनि महत्वपुर्ण थियो । ज्याक पेरिन उत्कृष्ट प्रोड्युसर हुन । यसको स्क्रिप्ट तयार गर्न झण्डै तीन वर्ष लागेको थियो ।
हो, लोकल कथालाई अन्तरराष्ट्रिय दर्शकसम्म पुर्याउनका लागि कथा ‘युनिर्भसल’ बन्नैपर्छ साथमा बलियो टिमको आवश्यकता पदर्छ । क्याराभान यति सफल बन्ला भन्ने कसैले कल्पना गरेका थिएनन होला । म स्वयंलाई ओस्कारमा पुग्ला भन्ने थाहा थिएन । मैले मिहेनत गरेँ, मिहेनतले त्यहासँम्म पुर्यायो । पर्याप्त लगानी र समय दिएर बनाएको फिल्म सफल हुन्छ भन्ने हामी भन्न किटान गर्न सक्दैनाैँ । ‘हनि हन्टर्स’ पनि न्यासनल जियोग्राफीमा सबैभन्दा बढी रुचाइएकामध्ये एक कथा थियो । किनभने त्यो मात्र नेपाली कथा मात्र नभई युनिभर्सल कथा थियो ।
तपाईका फिल्मले नेपाल र नेपाली संस्कृतिप्रति विश्वमा हेर्न दृष्टिकोणमा कस्तो प्रभाव पा¥यो होला जस्तो लाग्दछ ? पर्यटन विकासमा टेवा पुर्याउन केही सुझाव छ ?
मलाई मेरा फिल्महरुले पक्कै पनि नेपालप्रति विश्वको ध्यान खिच्न सफल भयो भन्ने मेरो बुझाइ छ । र, मलाई लाग्दछ कि नेपालका पर्यटन, सांस्कृतिक चासो र संरक्षणको प्रयास पनि बढ्न थालेको छ । नेपाललाई पर्यटकीय गन्तव्य बनाउन धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ । मैले आफैँले पनि नेपाली संस्कृति विश्व समुदायसम्म पुर्याउन, प्रचार प्रसारको काम गरे । प्रचारप्रसारका लागि अन्तरराष्ट्रिय स्तरमा सम्बन्ध भएकाहरुसँग काम गर्नुपर्छ, जुन निकै महङ्गो हुन्छ । ।
नेपाली फिल्म बनाउँदै गर्दा त्यसको प्रवद्र्धनका लागि मलाई नेपाल सरकारबाट हुनसक्ने सहयोग पनि प्राप्त भएन । क्याराभानः हिमालय चलचित्र ओस्कार अवार्डमा पुग्यो । हनी हन्टर्स नेसनल जियोग्राफीको कभर भयो । यो देशप्रतिको प्रेम, सदभाव र सत्कर्मका बाबजुत उल्टो मैले नेपाल सरकारबाट प्रवेषाज्ञा प्राप्तिमा पटकपटक समस्या खेप्दै आएको छु । प्रवेषाज्ञा पाउन बहुतै समस्या झेल्दै आएको छु । तर पनि नेपालीहरुको माया लाग्छ । नेपालको माया लाग्छ । मेरो कामले नेपाल र नेपालीका पक्षमा सधैँ सकारात्मक प्रभाव पर्ने विश्वास छ ।








प्रतिक्रिया