अझै पाँच इजरायली बन्धक फिर्ता हुन बाँकी

काठमाडाैं । इजरायलले शनिबार प्यालेस्टिनी लडाकुहरूले गाजाबाट फिर्ता पठाएको पछिल्लो बन्धक अवशेष पहिचान गरेको छ । यससँगै दुई वर्षको युद्ध रोकिएको अमेरिकी मध्यस्थतामा भएको हमास र इजरायलबीचको युद्धविराम अन्तर्गत थप पाँच शव मात्र फिर्ता गर्न बाँकी छ ।
इजरायली सेनाले शुक्रबार हस्तान्तरण गरिएको शव स्वयंसेवक एम्बुलेन्स चालक लियोर रुडेफको भएको पुष्टि गरेको छ । उनी सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणमा मारिएका थिए ।
शनिबार पहिचान भएको अवशेष अजेन्टिनी मूलका इजरायली नागरिकको भएको र उनी इजरायलमा हमासको रक्तपातपूर्ण आक्रमणको समयमा ६१ वर्षको थिए ।
उनी आफ्नो समुदाय निर यित्जाक किबुट्जको रक्षा गर्ने प्रयास गर्दा मारिएका पाँच सशस्त्र नागरिकहरूमध्ये एक थिए ।
इजरायली अधिकारीहरूले सन् २०२४ मेमा उनको मृत्यु भएको पुष्टि गरेका थिए । हमासले २८ मृत पूर्व बन्धकहरूको सूचीमा उहाँको नाम समावेश गरेका थिए । हमासले अक्टोबर युद्धविरामको सर्तहरू अन्तर्गत फिर्ता गर्न सहमत भएकामध्ये अहिलेसम्म २३ मृत बन्धकको अवशेष फिर्ता गरिसकेको छ भने २० जीवित बनधकलाई पनि फिर्ता गरिसकेको छ ।
सम्झौता अन्तर्गत फिर्ता गर्न बाँकी अझै पाँच शवमध्ये तीन इजरायली र एक थाई गरी चार अक्टोबर ७ को आक्रमणमा बन्धक बनाइ लगेका व्यक्तिका हुन् र अर्को एक सन् २०१४ मा अघिल्लो गाजा द्वन्द्वको क्रममा युद्धमा मारिएका एक सिपाहीको अवशेष हो ।
सङ्कटमा फसेका इजरायली परिवारहरूको प्रतिनिधित्व गर्ने अभियान समूह ‘द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरम’ले मृतक रुडेफको अवशेषलाई स्वदेश फिर्ता गरिएकोमा स्वागत गरेको छ ।
‘रूडेफको फिर्तीले दुई वर्षभन्दा बढी समयदेखि पीडादायी अनिश्चितता र शङ्काको साथ बाँचिरहेको परिवारलाई केही हदसम्म सान्त्वना प्रदान गर्दछ,’ फोरमाले भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना मध्यस्थता गरेको गाजा युद्धविराम सम्झौताको पहिलो चरण बन्धक र कैदी आदानप्रदानको लागि तय भएकोे थियो ।

प्रतिक्रिया