बगैँचाबाटै सुन्तला बिक्री हुँदा किसान खुसी

नेपालखोज २०८२ कार्तिक २३ गते १३:२१

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली-५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ ।

अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहज रुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए ।

जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताए । स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो रु ६० देखि रु ६५ सम्ममा सुन्तला बिक्री गर्दै आएको उनले बताए ।

गत वर्ष ५० देखि ५५ प्रतिकिलोसम्म सुन्तला बिक्री भएकामा अहिले मूल्यसमेत केही बढेको उनले बताए ।

नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन् । टिपिएका सुन्तला गाउँबाटै बिक्री हुँदा थप सहज भएको बुलिङ्टार-५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताए । उनको मात्रै करिब एक हजार सुन्तलाका बोट रहेका छन् । सुन्तला पाकेपछि स्थानीय बजारमा बिक्री गर्दै आएको उनले बताए ।

मौसम राम्रो भएकाले यसपटक सुन्तलाको दानासमेत राम्रो लागेको र बजार भाउ राम्रो प्राप्त गरेको सारुले बताए । गत वर्ष राइकोटमा उत्पादन भएका सुन्तला साना दाना भएकामा अहिले दाना राम्रो लागेको उनले बताए ।

उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमा नै आफूले खपत गर्दै आएको सारुले बताए ।

जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउरालीलगायत क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । स्थानीय व्यापारी बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले बताए ।

नवलपुरका स्थानीय बजारसँगै चितवनको नारायणगढबाट सुन्तला माग हुँदै आएको उनले बताए ।

किसान आफैँले सुन्तला बजारमा पु¥याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ । गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीलेसमेत सुन्तला सङ्कलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन् । यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ ।

नवलपरासी पूर्व नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरद्वारा सुन्तला जातका फलफूल जोन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा व्यावसायिक रुपमा सुन्तलाको उत्पादन बढ्दै गएको छ । कार्यालयका सूचना अधिकारी रणबहादुर महतोका अनुसार नवलपुरमा १८० हेक्टर क्षेत्रफल सुन्तलाजात फलफूलको उत्पादशील क्षेत्र रहेको छ ।

प्रतिक्रिया