‘घरायसी तथा सेवामूलक क्षेत्रलाई अर्थतन्त्रसँग जोड्नुपर्ने’

काठमाडौं । घरायसी तथा सेवामूलक कार्यको आर्थिक पाटोलाई हिसाब गरेर समाजमा यसको महत्त्वलाई औपचारिक रूपमै उजागर गर्नुपर्ने विज्ञहरूले धारणा राखेका छन् । नेपाल मावअधिकार चलचित्र केन्द्रले सोमबार बानेश्वरमा गरेको एक कार्यक्रममा ‘घरायसी काम तथा सेवामूलक अर्थतन्त्र’ विषयक अन्तक्र्रियामा उनीहरूले सेवा अर्थतन्त्र फैलिँदै गएकाले विकसित देशहरूझैँ महिला र पुरुषको समान सहभागिताले मात्र यो सम्भव हुने तर्क गरे ।
एनजीओ फेडेरेसनका अध्यक्ष अर्जुन भट्टराईले नेपालमा अहिलेको अवस्थामा सेवामूलक र घरायसी काममा महिलाहरू नै धेरै खटिने गरेका बताए। महिला र पुरुष दुवैले घरायसी तथा सेवामूलक काममा उत्तिकै ध्यान दिनुपर्ने खाँचो उनले औँल्याए। ‘विदेशमा केयर अर्थतन्त्र एउटा पेसा नै बनिसकेको छ । हाम्रोमा पनि पेसागत रुपमा अघि बढ्ने अवस्था आउँदै छ,’ उनले भने, ‘काठमाडौँ वा विदेश बस्ने छोराछोरीका बाबुआमालाई यहाँ हेरचाह गर्न कर्मचारी भइसक्यो, राज्यले पनि यसलाई नीति बनाएर समेट्नुपर्यो,’ उनले भने।
अर्थविद् डा. विकल श्रेष्ठले घरायसी तथा सेवामूलक कार्यको योगदानको हिसाब अहिलेसम्म नभएको बताए। ‘जबसम्म कुनै पनि मुद्दा देशको अर्थतन्त्रसँग जोडिँदैन, तबसम्म त्यसले प्राथमिकता पाउन गाह्रो हुन्छ,’ उनले भने, ‘आजको अवस्थामा प्रत्यक्ष रूपमा हेर्ने हो भने हाम्रो अर्थतन्त्रमा यसको योगदान शून्यबराबर छ। किनकि यसबारे अध्ययन नै भएको छैन र घरायसी कामलाई व्यवसायमा जोड्न पनि सकिँदैन।’
त्यस्तै अर्की वक्ता ऋतु भट्टले भनिन्, ‘हामीले घरायसी कामलाई अर्थतन्त्रसँग जोडेर मात्रै हेर्न पनि मिल्दैन। वा तथ्यांकमा मात्रै हेरेर हुँदैन। हाम्रो पूर्वीय दर्शनले भावना र अध्यात्ममा जोड दिन्छ। र, भावनात्मक रुपमा घरायसी तथा सेवामूलक कामको योगदान ठुलो छ।’
घरमा गरिने स–साना कामले हाम्रो जीवनलाई आकार दिन निकै महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताइन्। यसको महत्त्व पहिले हामी आफैंले बुझ्नुर्ने र अरुलाई पनि गराउनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा मानवअधिकार चलचित्र केन्द्रका पूर्वअध्यक्ष विष्णु खत्रीले महिलाले औसतमा प्रतिसाता २९ घण्टा र पुरुषले ५ घण्टामात्रै घरायसी काममा बिताउने गरेको पाइएको बताए। ‘यसले महिलाहरूको महत्त्व उजागर गर्छ,’ उनले भने, ‘तर हामीेले यसबारे अझै विस्तृत अध्ययन गर्न जरुरी छ।’ पुरुषहरूले पनि घरायसी काममा आफ्नो संलग्नतालाई बढाउनुपर्नेमा उनले जोड दिए।
वैश्विक अर्थतन्त्रमा सेवामूलक कार्यको हिस्सा ठूलो रहेको भन्दै नेपालमा पनि अर्थतन्त्रमा यसको प्रभाव बढ्दै जाने प्रक्षेपण उनले गरे। ‘आज हामीसँग युवा छन्। तर अबको १५–२० वर्षमा ज्येष्ठ नागरिकको संख्या धेरै हुनेछ। त्यतिबेला उनीहरूको सेवा गर्न ठुलो संख्यामा कर्मचारी चाहिनेछ । त्यहीकारण हामीले सेवामूलक अर्थतन्त्रबारे बहस र छलफल गर्न जरुरी छ,’ उनले भने।
भान्छा, सरसफाइ, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, पाहुना सत्कार, गाईवस्तु रेखदेख, कृषि, चाडपर्व, पूजापाठ, सामाजिक कार्यलगायतलाई सेवामूलक अर्थतन्त्र हुन्। यसलाई आर्थिक पाटोसँग जोडेर यसको महत्त्व उजागर गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
त्यस्तै घरायसी सेवामूलक कामलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्नेमा पनि सहभागीहरू एकमत भएका थिए। केयर इकोनोमीलाई राज्यले बेलैमा सम्बोधन गर्न नसके भविष्यमा यसले विकराल रूप लिन सक्ने उनीहरूको चेतावनी थियो। उनीहरूलाई सीपसँगै र उद्यममा लगाउन सके देशले ठुलो आर्थिक क्रान्ति गर्ने र केयर इकोनोमीलाई जागिरको रूपमा परिवर्तन गर्नुपर्नेमा वक्ताहरूले जोड दिए।
यसका लागि दबाब सिर्जना नै गनुपर्ने उनीहरूको भनाइ थियो। त्यस्तै केयर इकोनोमीलाई जीडीपी जोड्नुपर्ने र अदृश्य श्रमलाई देखिने बनाउन आन्दोलन र अभियानकै रूपमा लैजानुपर्ने उनीहरूले सुझाए।
क्यानेडियन हाई कमिसन, सीएअफएलआई परियोजनाको सहकार्यमा मानवअधिकार चलचित्र केन्द्र र उन्नति, काठमाडौँ, नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघकी संयुक्ता भट्राई, पौरखी नेपालकी मञ्जु गुरुङ, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अशोक राना लगायतले आआफ्नो धारणा राखेका थिए।

प्रतिक्रिया