ट्रम्पले गरे डेमोक्र्याटिक पार्टीका सांसदलाई माफीको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कङ्ग्रेसका एक डेमोक्र्याटिक सदस्यलाई घूस लेनदेनसम्बन्धी मुद्दामा माफी दिएका छन् । ट्रम्पले बुधबार आफ्नो लगानीको ट्युथ सोसल प्लेटफर्ममा लेख्नुभएको छ, ‘म यो घोषणाद्वारा टेक्सासका मेरो प्रिय सांसद हेनरी कुएलरलाई बिना शर्त पूर्ण आममाफीको घोषणा गर्दैछु । म तपाइलाई चिन्दिनँ, तर तपाइ आज राति राम्रोसँग सुत्न सक्नुहुनेछ । तपाईँको भयानक सपना अन्तमा समाप्त भएको छ।’
कुएलर र उनकी श्रीमतीले अजरबैजान सरकारको आंशिक स्वामित्वमा रहेको तेल र ग्यास कम्पनीबाट सयौं हजार डलर घूस लिएको अभियोजनकर्ताहरूको आरोपको आधारमा षड्यन्त्र र घूसखोरीको धेरै आरोपहरूको सामना गरिरहेका छन् । कुएलर दम्पतीले ती आरोपहरूको खण्डन गर्दै आएका छन् । उनीहरूले उक्त मुद्दामा अप्रिलदेखि कानुनी लडाई लड्दै आएका थिए ।
कुएलरले बुधवार एक्समा एक पोस्ट गर्दै माफीको जवाफमा भनेका, ‘म राष्ट्रपति ट्रम्पलाई उहाँको जबरदस्त नेतृत्व र तथ्यहरू हेर्नको लागि समय निकाल्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छु।’ ट्रम्पले पूर्व राष्ट्रपति बाइडेनको प्रशासनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध न्याय प्रणालीलाई प्रयोग गरेको बताउनुभएको छ तर यसको प्रमाणका लागि कुनै तथ्य भने पेश गरेका छन् ।
आफ्ना विगतका कानुनी समस्याहरूलाई राजनीतिक वदलाका भावले प्रकट गरिएको भन्दै ट्रम्पले यस वर्ष दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेदेखि धेरै उच्च ओहोदाका व्यक्तिहरूको मुद्दामा सजाय मिनाहको घोषणा पनि गरेका छन् । होन्डुरसका पूर्व राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई सोमबार पश्चिम भर्जिनियाको जेलबाट रिहा गरिएको छ । ट्रम्पले गत फेब्रुअरीमा इलिनोइसका गभर्नर रड ब्लागोजेभिचलाई राजनीतिक भ्रष्टाचारको मुद्दामा माफी दिनुभएको थियो । -रासस/एएफपी








प्रतिक्रिया