सोमबार, मंसिर २२, २०८२

‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी

नेपालखोज २०८२ मंसिर २१ गते ८:३१

धरान (सुनसरी) । याक्थुङ समुदायको भाषा, पहिचान तथा सामाजिक जीवनलाई आदिम र मौलिक शैलीमै प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको पालामी कथानक चलचित्र ‘मिम्लेन फुङ’ देशव्यापी प्रदर्शनको तयारी छ ।

याक्थुङ आर्ट फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रले याक्थुङ जनजीवनको मौलिक सौन्दर्य, प्रेम, सामाजिक संरचना र आत्मसम्मानका सङ्घर्षलाई केन्द्रमा राखेर कथा बुनेको निर्देशक रवि शेर्माले जानकारी दिए।

चलचित्रको छायाङ्कन ताप्लेजुङका सिकैचा, कुन्जारी, पाङभे, हेन्छेबुङ र वरुक्पा क्षेत्रका प्राकृतिक परिवेशमा गरिएको हो । याक्थुङ सांस्कृतिक जीवनशैली प्रत्यक्ष प्रतिविम्बित हुने भौगोलिक आधारका कारण चलचित्रले ग्रामीण समुदायको वास्तविकता सजीव रूपमा उतारेको निर्देशक शेर्माको भनाइ छ ।

यी स्थान केवल छायाङ्कनका लागि चयन गरिएका भूभागमात्र नभई याक्थुङ समुदायको सांस्कृतिक स्मृति बोकेका जीवितस्थलसमेत रहेको निर्माण टोलीले जनाएको छ । गाउँका कच्ची भिरालो बाटो, पाखापखेराका खेत, यालाङ, केलाङजस्ता सांस्कृतिक अभ्यास हुने खुला चौर, स्थानीय घरपरिवारको पुरानो संरचनालगायतका दृश्यले चलचित्रको कलात्मकता र मौलिकता थप उजागर गरेको छ ।

छायाङ्कनका अधिकांश दृश्य स्थानीय बस्तीको दैनिकीसँग घनिष्ठ रूपमा जोडिएका छन् । बिहान, साँझका घरायसी गतिविधि, सामुदायिक भेटघाट, चरन पाखामा गुञ्जिने बाँसुरीका धुन, पालामका स्वर र गाउँको सामूहिक जीवनशैली । यी तत्वले चलचित्रलाई केवल कथा नभई सांस्कृतिक दस्तावेजका रूपमा महत्व बढाएको निर्देशक शेर्माको भनाइ छ ।

याक्थुङ समुदायका ज्येष्ठ नागरिकदेखि युवापुस्तासम्म फिल्म निर्माणमा प्रत्यक्ष रूपमा संलग्न गरिएकाले स्थानीय बोली, पहिरन, संस्कार, संस्कृति र भावभङ्गीमा कुनै कृत्रिमता नरहेको निर्माण पक्षले बताएको छ । प्राकृतिक प्रकाश, स्थानीय वातावरण र मौसमका उतारचढावलाई यथास्थान समावेश गरिएकाले चलचित्रले हिमाली–पहाडी जनजीवनको सौन्दर्यलाई थप प्रभावकारी ढङ्गले प्रस्तुत गरेको निर्देशक शेर्माले बताए ।

प्रतिक्रिया