मंगलबार, मंसिर २३, २०८२

कालीगण्डकीको पानी रत्नेचौरमा : ‘एक घर, एक धारा’

नेपालखोज २०८२ मंसिर २३ गते ९:२७

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा कालीगण्डकी नदीको पानी तानेर ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना सम्पन्न भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित रत्नेचौर ‘लिफ्ट’ खानेपानी योजनाबाट २४९ घरपरिवार लाभान्वित भएका छन् । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर झलकमोहन ओझाले योजनाको संरचना निर्माण सकिएपछि यसै हप्तादेखि परीक्षणका लागि पानी वितरण थालिएको जानकारी दिए ।

विद्युतीय उपकरणको सहायताले कालीगण्डकीको पानीलाई तीन चरणमा ४५० मिटरमाथि रहेको सालघारीको ट्याङ्कीमा तानेर मुख्य र शाखा लाइनमार्फत घरघरमा वितरण थालेका छौँ, उनले भने , उपभोक्ताको श्रमदानसहित करिब रु तीन करोड ५० लाखमा योजना निर्माण भएको हो ।

रत्नेचौरको फेदीमा रहेको लामगरास्थित कालीगण्डकीको किनारमा १० मिटर गहिरो इनार बनाइ २५ हर्स पावर क्षमताको पम्प जडान गरेर २५० मिटरमाथि सुन्दरचौरमा निर्माण भएको २५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्कीमा पुर्याइएको छ ।

सुन्दरचौरको ट्याङ्कीबाट थप १०० मिटरमाथि उपल्लाचौरको डहरेमा रहेको इन्टेकमा पानी तानेर रत्नेचौर र सालघारीमा रहेका दुई वटा रिजर्भ ट्याङ्कीमा फरक-फरक पाइप लाइनमार्फत आपूर्ति भएको छ ।

रत्नेचौरमा खानेपानी आपूर्ति गराउन ६५ हजार लिटर क्षमताको रिजर्भ ट्याङ्की, सालघारी र उपल्लाचौरमा पानी वितरणका लागि डहरेदेखि थप १०० मिटरमाथि सालघारीमा निर्माण भएको २५ हजार लिटर क्षमताको अर्को ट्याङ्कीमा पानी आपूर्ति गराउने संरचना निर्माण भएको छ । विद्युतीय उपकरणको सहायताले कालीगण्डकीबाट प्रति सेकेण्ड पाँच लिटरका दरले पानी आपुर्ति भएको कार्यालय प्रमुख ओझाले बताए । एक हजार सात सय मिटर मुख्य र १७ किलोमिटर शाखा पाइपलाइन निर्माण भएको छ ।

रत्नेचौरबासीको घरघरमा मिटर जडित धाराबाट पानी वितरण गर्न थालिएको उपभोक्ता समितिका अध्यक्ष रत्नबहादुर खत्रीले बताए । संरचनाको परिक्षणका साथैमा त्रुटी देखिएको ठाउँमा मर्मत र सुधार भइरहेको उनले बताए । योजनाको दिर्घकालीन सञ्चालन र पानीको मितब्ययी प्रयोगका लागि घरघरमा मिटर जडान गरिएको छ ।

रत्नेचौरका बासिन्दा सरला पुनले सार्वजनिक धारामा पालो कुरेर पानी ल्याउनुपर्ने समस्या हटेको र समयको बचत भएको बताइन् ।

प्रतिक्रिया