अभिलेख जलेपछि यातायात कार्यालयको कामकाज अस्थायी संरचनाबाट

बाँके । जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगन्जको बाँके गाउँस्थित अस्थायी रूपमा भएको कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् ।
हाल कार्यालयले नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख कालिदास बस्यालका अनुसार आन्दोलनका क्रममा भएको आगजनीले सेवा कक्ष, अभिलेख कक्ष, कम्प्युटर, प्रिन्टर, सर्भर प्रणाली तथा फर्निचरमा व्यापक क्षति पुगेको छ ।
‘भौतिक संरचनाभन्दा पनि कागजातको क्षति गम्भीर छ । करिब ९५ प्रतिशत अभिलेख जलेका छन्’, उनले भने । आगलागीपछि सेवा पूर्ण रूपमा ठप्प नहोस् भन्ने उद्देश्यले कार्यालयलाई तत्काल सडक विभागको भवनमा सारेर अस्थायी रूपमा सञ्चालन गरिएको हो । तर अस्थायी संरचनाबाट सेवा दिँदा स्थान अभाव, सीमित काउन्टर, प्रविधिगत समस्या तथा सेवाग्राहीको चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको कार्यालयका प्रमुख बस्यालले जानकारी दिए ।
यद्यपि, यस्ता कठिनाइबिच पनि सवारीसाधन नवीकरण, सवारी दर्ता, सवारी कर सङ्कलन तथा चालक अनुमतिपत्र नवीकरणजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालन भइरहेका छन् । उनका अनुसार सीमित स्रोतसाधनमै भए पनि सेवाग्राहीलाई असुविधा नहोस् भन्ने प्रयास गरिएको छ । कागजात नष्ट भएपछि अभिलेख पुनः निर्माण कार्यालयका लागि अर्को ठुलो चुनौती बनेता पनि सेवा प्रणाली डिजिटल रहेकाले केन्द्रीय सर्भरमा सुरक्षित रहेका विवरणले राहत दिएको प्रमुख बस्यालको भनाइ छ ।
‘लाइसेन्स र सवारी दर्तासम्बन्धी धेरै विवरण डिजिटल रूपमा सुरक्षित रहेकाले त्यसैको आधारमा अभिलेख पुनः निर्माणको प्रक्रिया अघि बढाइएको छ’, उनले भने । साथै सेवाग्राहीसँग रहेका प्रतिलिपि र अन्य कार्यालयका अभिलेखको सहायताले पुनःप्रमाणिकरण गरिने प्रमुख बस्यालले जानकारी दिए ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यालयले सम्पूर्ण अभिलेख डिजिटलाइजेसन, नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण प्रणाली, सिसिटिभी जडान तथा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेको उनले बताए । यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको प्रमुख बस्यालको भनाइ थियो ।
‘यातायात कार्यालयको स्थायी पुनर्निर्माणका विषयमा पनि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ’, उनले भने, ‘क्षति मूल्याङ्कनको विस्तृत प्रतिवेदन तयार भएपछि नयाँ भवन निर्माण र बजेट विनियोजनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।’ प्रमुख बस्यालले स्थायी संरचना तयार नहुन्जेलसम्म अस्थायी कार्यालयबाटै सेवा सञ्चालन हुने जानकारी दिए ।
अस्थायी अवस्थाका कारण केही असुविधा भए पनि कार्यालयले सेवाग्राहीलाई संयम अपनाउन आग्रह गरेको छ । ‘कठिन परिस्थितिमा पनि सेवा निरन्तरता दिन हामी प्रतिबद्ध छौँ’, उनले भने, ‘अस्थायी अवस्थालाई बुझेर सहकार्य गरिदिन सबै सेवाग्राहीमा अनुरोध गर्दछु ।’ उनका अनुसार सुदूरपूर्व ताप्लेजुङ र इलामबाट पनि सेवा लिन बाँकेको यातायात कार्यालयमा सेवाग्राही आउने गरेका छन् ।
अस्थायी कार्यालयमा आएका सेवाग्राहीले कार्यालयको व्यवस्थापन र कर्मचारीको सहयोगलाई सराहना गरेका छन् भने केही सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । कार्यालयले त्यसलाई ध्यानमा राख्दै सेवाग्राहीलाई पहिले नै आवश्यक कागजात र डिजिटल प्रतिलिपि लिएर आउन सुझाव दिएको छ ।
कर्मचारीले अस्थायी कार्यालयमा विभिन्न सेवा प्रक्रिया फरक तर व्यवस्थित रूपमा सञ्चालन गरेका छन् । सवारी दर्ता तथा लाइसेन्स नवीकरणमा प्रत्येक सेवाग्राहीलाई क्रमबद्ध रूपमा सेवा दिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ । यसले समय बचत भएको र चाप व्यवस्थापनमा मद्दत पुगेको प्रमुख बस्यालले बताए ।
‘आगलागीले क्षतिग्रस्त अभिलेख पुनर्निर्माणको प्रक्रिया निकै चुनौतीपूर्ण भए पनि डिजिटल प्रणाली र सेवाग्राहीसँग उपलब्ध प्रतिलिपिले काम सहज बनाएको छ’, उनले भने, ‘कार्यालयले आगामी वर्षसम्म सबै अभिलेखलाई पूर्ण रूपमा डिजिटलाइजेसन गर्ने योजना पनि अघि सारेको छ ।’ यसअन्तर्गत नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण उपकरण र सिसीटिभी जडान गरेर भविष्यमा यस्ता घटनाबाट सुरक्षा सुनिश्चित गर्ने तयारी छ ।
साथै, कार्यालयले अस्थायी संरचनामा सेवा दिँदै पनि सेवाग्राहीलाई प्राथमिकता दिँदै न्यूनतम असुविधा सुनिश्चित गरेको छ । यसबिच कर्मचारीले सेवाग्राहीलाई आवश्यक जानकारी उपलब्ध गराउने, आवश्यक दस्ताबेजको प्रतिलिपि जाँच गर्ने र प्रक्रियालाई स्पष्ट रूपमा बुझाउने काममा निरन्तर ध्यान दिँदै आएका छन् ।








प्रतिक्रिया