आइतबार, मंसिर २८, २०८२

तोकिएकै मितिमा चुनाव हुनुपर्नेमा जोड

नेपालखोज २०८२ मंसिर २८ गते १०:३१

गण्डकी । नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले तोकिएकै मितिमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । शनिबार बागलुङ सदरमुकाममा आयोजित एकता सन्देश सभामा बोल्दै नेताहरूले आगामी फागुन २१ गतेलाई निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन हुन नसके वर्तमान सरकारप्रति जनविश्वास घट्ने बताएका हुन् ।

नेकपा नेतृ एवं पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकारको एउटै मात्र ‘म्याण्डेट’ चुनाव गराउने रहेकाले त्यसमा केन्द्रीत हुन आग्रह गरे । फागुन २१ मै निर्वाचन हुनुपर्छ, सरकारले निष्पक्ष र भयरहित रूपमा निर्वाचनको वातावरण बनाउनुपर्छ, उनले भने, जेनजी प्रदर्शनपछिको अवस्थामा मुलुकलाई नयाँ जनमतसहित अगाडि बढाउन निर्वाचनको विकल्प छैन । संविधान र लोकतन्त्रको रक्षाका लागि पनि निर्वाचन अपरिहार्य छ ।

अधिकांश पार्टीले निर्वाचनमा जाने निर्णय गरेकाले विस्तारै निर्वाचनको वातावरण बन्दै गएको भन्दै नेतृ भुसालले राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्यमा जोड दिए । उनले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले ५० प्रतिशत युवालाई उम्मेदवार बनाउने बताए

नेकपा नेता एवं पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले निर्वाचनपछि बन्ने सरकारले ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्ने बताए । उनले आफ्नो पार्टी निर्वाचनमा भाग लिन तयार रहेको र एक्लै प्रतिस्पर्धामा उत्रने धारणा राखे ।

घोषित निर्वाचनमा हामी भाग लिन्छौँ, निर्वाचन प्रक्रियामा जेनजी पुस्तालाई समेटेर लैजान्छौँ, नेता पौडेलले भने, हाम्रो पार्टी आत्माआलोचनासहित जनताका बीच आएको छ, देशव्यापी रूपमा सकारात्मक वातावरण बनेको छ ।

नेतृ दिलकुमारी पन्तले समयमै चुनाव नभए थप समस्या आउने भन्दै निर्वाचन सफल पार्न नेकपाले सरकारलाई सहयोग गर्ने उल्लेख गरे ।

प्रतिक्रिया