प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति

नेपालखोज २०८२ मंसिर २८ गते १२:५४

दमौली (तनहुँ) । सदरमुकाम दमौलीमा अवस्थित प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या भएको छ ।

गण्डकी प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि संरचना निर्माणमा जग्गा अभाव भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले जानकारी दिए । डा बगालेले ५० शय्यामा स्तरोन्नति भएसँगै अस्पतालमा आठ विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत भएको जानकारी दिए ।

गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन टुङ्गिएको भए केही न बजेट व्यवस्थापन गरेर निर्माणको प्रक्रियामा जानसक्ने उनले जानकारी दिए । अस्पतालका नाममा थप जग्गा व्यवस्थापन हुन सकेका खण्डमा भवन निर्माण गर्न बजेट व्यवस्थापनका लागि सहज हुने उनको भनाइ छ ।

पृथ्वीराजमार्गमा रहेको र सेवाग्राहीको चाप बढी भएका कारण दमौली अस्पतालको स्तरोन्नतिको कामलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

विसं २०३४ मा स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।

अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्यधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स-रे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको अस्पताल प्रमुख डा परिवर्तन बरालले जानकारी दिए ।

यहाँबाट प्रदान गरिने सेवालाई सहज बनाउन विभिन्न विशेषज्ञ चिकित्सक थप भएको अस्पतालका प्रमुख डा बरालले बताए । उनका अनुसार हाडजोर्नी तथा नशारोग विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, पेट, मुटु तथा छातीरोग विशेषज्ञ (फिजिसियन), बालरोग विशेषज्ञ थप गरिएको छ ।

विशेषज्ञ सेवा लिनका लागि यसअघि पोखरा, भरतपुर, काठमाडाैं जानुपर्ने बाध्यता रहेकामा दमौली तथा आसपासका सर्वसाधारणले दमौली अस्पतालबाट उक्त सेवा लिनसक्ने बरालको भनाइ छ । अस्पतालमा प्रत्येक मङ्गलबार र बिहीबार रेडियोलोजिष्ट सेवासमेत प्रदान भइरहेको छ । अस्पतालले आव २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको थियो ।

त्यस्तै, आव २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएका थिए । आव २०७९/८० मा अस्पतालले ७३ हजार २५३ लाई सेवा दिएको थियो । आव २०७८/७९ मा ६४ हजार ५९४ लाई सेवा दिएको थियो ।

प्रतिक्रिया