मोरोक्कोमा आएको आकस्मिक बाढीबाट १४ जनाको मृत्यु

राबात । मोरोक्कोको अटलान्टिक तटीय प्रान्त साफीमा परेको भीषण वर्षा तथा आकस्मिक बाढीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३२ जना घाइते भएका छन् । स्थानीय निकायले आइतबार जारी गरेको वक्तव्यमा यसबारे जानकारी दिएका हुन् ।
वक्तव्यअनुसार करिब एक घण्टाको अवधिमा परेको तीव्र मेघगर्जनसहितको वर्षाले प्रान्तका विभिन्न क्षेत्रहरूमा आकस्मिक बाढी निम्त्याएको हो। यसका कारण दर्जनौँ आवासीय घर तथा व्यापारिक प्रतिष्ठानहरू जलमग्न भएका छन् ।
यसअघि राष्ट्रिय समाचार संस्थाले सार्वजनिक गरेको विवरणअनुसार साफी नगरमा करिब ७० घर तथा व्यापारिक भवनहरूमा बाढी पसेको थियो भने १० वटा सवारी साधन बाढीले बगाएको थियो । बाढीका कारण सडक संरचनामा क्षति पुग्नुका साथै यातायात सञ्चालनमा व्यापक अवरोध सिर्जना भएको जनाइएको छ ।
स्थानीय प्रशासनका अनुसार हाल बेपत्ता व्यक्तिहरूको खोजी कार्य निरन्तर जारी रहेको छ भने क्षतिग्रस्त सडक, यातायात व्यवस्था तथा सार्वजनिक सेवाहरू पुनः सञ्चालनमा ल्याउने प्रयास तीव्र रूपमा अगाडि बढाइँदै छन्।








प्रतिक्रिया