अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : नेकपा संयोजक दाहाल

नेपालखोज २०८२ पुष १६ गते १७:१५

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख गरे । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेर नयाँ संसद् स्थापना गर्नुपर्छ । नयाँ संसद्ले संविधानमा रहेका अन्योलता हताउने काम गर्नेछ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक दाहालले भने ।

पछिल्ला राजनीतिक घटना र जेनजी आन्दोलनले पुरानो राजनीतिक सोच र स्थापित शक्तिलाई आत्मसमीक्षा गर्न बाध्य पारेको उनले बताए । संयोजक दाहालले राजनीतिक दलका नेतृत्व तहले आफ्ना कमीकमजोरी पहिचान गरी सुधारतर्फ उन्मुख हुनुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले चुनौतीपूर्ण परिस्थितिमा बसेर पनि निर्वाचन गर्ने वातावरण बनाउन सफल भएको नेकपाका संयोजक दाहालले उल्लेख गरे । उनले राज्य, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्र रोजगार सिर्जना, लगानी विस्तार र उत्पादन वृद्धिबाट समृद्धि सम्भव हुने धारणा राखे ।

प्रतिक्रिया