निर्वाचन प्रहरीले कति पाउनेछन् सुविधा ?

काठमाडाैं । सरकारले आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको छ ।
निर्वाचन प्रहरी छनोटका लागि सरकारले निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि २०८२ स्वीकृत गरिसकेको छ ।
यस्ताे छ सेवा सुविधा
निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि रु ३४ हजार ७७६ पाउनेछन् ।
निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रतिनिर्वाचन प्रहरी ४० दिनको लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिए ।
उनका अनुसार निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट आठ सय छयालीसका दरले तयारी खर्च उपलब्ध गराइनेछ ।
प्रतिदिन प्रतिनिर्वाचन प्रहरी रु तीन सयको दरले चार दिनका लागि एकमुष्ट रु एक हजार २०० खाजा खर्च उपलब्ध हुनेछ । नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले पाउनेछन् ।
कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयम्ले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।

प्रतिक्रिया