राष्ट्रिय स्वाधिनताका लागि सङ्घर्षका उतारचढावबाट डराउनु हुँदैन : अध्यक्ष ओली

नेपालखोज २०८२ माघ १ गते १८:३२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी इतिहासको कालदेखि राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि सङ्घर्षका उतारचढावबाट अघि बढ्दै आएकाले फेरि पनि निर्भयताका साथ लाग्न आग्रह गरेका छन् ।

नेकपा (एमाले)द्वारा ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका साथ अहिले पनि लागिरहेको स्पष्ट पारे ।

लोकतान्त्रिक आन्दोलनका क्रममा पिस्कर काण्ड एक ऐतिहासिक तथा वीरतापूर्ण घटना भएको स्मरण गर्दै उनले सहिदको बलिदान र परिवर्तनकारी जनताको आदर्शप्रति कर्तव्यनिष्ठ भएर निडरताका साथ लाग्न आग्रह गरे ।

फरक प्रसङ्गमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पति शुद्धिकरणसम्बन्धी मुद्धा फिर्ता लिन महान्याधिवक्ताको कार्यालयले गरेको निर्णयप्रति आपत्ति जनाए ।

कार्यक्रममा वामनेता मेघराज पौडेललाई सम्मान गरिएको थियो भने विमोचित पुस्तकका सम्बन्धमा समालोचक डा देवी नेपालले टिप्पणी गरेका थिए

सिन्धुपाल्चोकको पिस्करमा २०४० पुस ३० गते माघे सङ्क्रान्ति मेला मनाउनेहरुमाथि तत्कालीन सरकारले दमन गर्दा केही व्यक्ति सहिद हुनुका साथै र दर्जनौँ व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया