भ्रमपूर्ण एवं तथ्यहीन समाचारको खण्डन

मिति: २०८२ माघ ५ गते
ओमकार टाइम्स, अर्थ सञ्जाल, ग्लोबल नागरिक लगायतका अनलाइन मिडिया पोर्टलहरू तथा केही सामाजिक सञ्जाल प्लेटफर्महरूमा हालैका दिनहरूमा यस इभेन्ट्सको समेत नाम जोडी पटक-पटक प्रकाशित/प्रसारित “‘सञ्चालक अम्बिका लामिछानेबाटै लुटियो बैङ्क” शीर्षकका प्रकाशन गरिएका झुटा एवं चरित्र हत्या हुने किसिमका सामग्रीहरू प्रति गम्भीर असहमति प्रकट गर्दै यस्ता समाचारहरूको खण्डन गर्दछौ । यी सामग्रीहरू यस कम्पनी तथा अम्बिका शर्मा लामिछानेको व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने स्पष्ट दुराशयका साथ प्रकाशित/प्रसारित भएका छन्।
सम्बन्धित पक्षसँग कुनै तथ्य जाँच (fact verification) वा स्पष्टीकरण समेत नलिई प्रकाशित यी सामग्रीहरू पूर्ण रूपमा मिथ्या, निराधार तथा प्रमाण शून्य छन्। यस कम्पनी यस्ता सामग्रीहरूको कडा कानुनी शब्दमा खण्डन गर्दछ र यी सामाग्रीहरू मानहानि कारक तथा दुष्प्रचारपूर्ण भएको ठहर गर्दछ।
कानुनी स्पष्टीकरण तथा तथ्यहरू:
१. सरस्वती इभेन्ट्स प्रालिमा अम्बिका शर्मा लामिछाने वा निजको छोराको कुनै स्वामित्व, नियन्त्रण, लाभांश अधिकार वा कुनै प्रकारको हित/लाभको हक कायम छैन।
२. यस कम्पनी र प्रभु बैङ्क लिमिटेडबिच भएको विज्ञापन सम्बन्धी कारोबार (यदि कुनै भए) अम्बिका शर्मा लामिछाने प्रभु बैङ्कको सञ्चालक पदमा नियुक्ति हुनु भन्दा पूर्वको हो। निज सञ्चालक नियुक्त भएपश्चात् दुवै संस्थाबिच कुनै पनि प्रकारको व्यावसायिक कारोबार भएको छैन।
३. अम्बिका शर्मा लामिछानेले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) तथा नेपाल राष्ट्र बैङ्कका एकीकृत निर्देशनहरूको पूर्ण पालना गर्दै सम्भावित हितको द्वन्द्व (conflict of interest) घोषणा गरी सम्बन्धित निर्णय प्रक्रियाबाट पूर्ण रूपमा अलग रहनु भएको र प्रभु बैङ्कको कुनै कारोबार बाट निज वा निजको परिवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष कुनै लाभ प्राप्त नगरेको बताउनु भएको छ ।
४. प्रकाशित सामग्रीहरूमा उल्लेखित व्यक्तिगत आरोपहरू पूर्ण रूपमा निराधार छन् र यिनले निजको निजी गोपनीयताको अधिकारको समेत गम्भीर उल्लङ्घन गरेका छन्। निजले यस्ता सामग्रीहरूबाट आफ्नो मानहानि भएको तथा मानसिक क्षति पुगेको भन्दै जिम्मेवार व्यक्ति/संस्थाहरूविरुद्ध मुलुकी फौजदारी संहिता, २०७४ को दफा ३०५–३०७ (मानहानि), विद्युतीय कारोबार ऐन, २०६३ तथा सूचना प्रविधि तथा साइबर सुरक्षा नियमावली अन्तर्गत नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गर्ने तयारी गर्नु भएको जानकारी यस कम्पनीलाई प्राप्त भएको छ।
उल्लेखित सामग्रीहरूले नेपालको संविधानको धारा १७ (२)(ख) (अभिव्यक्ति स्वतन्त्रताको सीमा), धारा १९ (गोपनीयताको हक), प्रेस काउन्सिल नेपालको पत्रकार आचारसंहिता, २०७३ (संशोधित) तथा पत्रकारितासम्बन्धी स्थापित नैतिक मापदण्डहरूको स्पष्ट उल्लङ्घन गरेका छन्।
तसर्थ, यस सम्बन्धी सबै प्रकाशन/प्रसारण तत्काल रोक्न, सम्बन्धित सामग्रीहरू हटाउन र सार्वजनिक रूपमा माफी माग्न कडा माग गर्दछौ । अन्यथा, मुलुकी देवानी संहिता, २०७४, मुलुकी फौजदारी संहिता, २०७४, विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य लागू हुने कानुन बमोजिम सम्बन्धित प्रकाशक, सम्पादक, लेखक तथा प्रसारकहरू विरुद्ध क्षतिपूर्ति, जरिवाना तथा फौजदारी कानुनी उपचार अघि बढाउने कुरा यसै खण्डन द्वारा सम्बन्धितलाई जानकारी गराउँदछौ । साथै यस सम्बन्धमा कुनै वैधानिक जिज्ञासा भए लिखित तथा औपचारिक माध्यमबाट मात्र सम्पर्क गर्न समेत अनुरोध गरिन्छ।
सरस्वती इभेन्ट्स प्रालि
सुबास ढकाल
प्रधान सपादक

प्रतिक्रिया