कराची मल आगलागीमा मृतक संख्या ५५ पुग्यो

नेपालखोज २०८२ माघ ८ गते १५:११

कराची । पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् ।

कराचीको दक्षिणी जिल्लाका उपायुक्त जावेद नबी खोसोले भने, ‘शनिबार राति आगलागी भएपछि हालसम्म कुल ५५ जनाको शव उद्धार गरिएको छ ।’ उनका अनुसार उद्धार कार्य अझै जारी छ र भग्नावशेषभित्र मानव अवशेष खोज्ने प्रयास भइरहेको छ ।

तीन तले गुल प्लाजामा भएको उक्त आगलागीपछि अझै केही व्यक्ति बेपत्ता रहेको आशङ्कामा आफन्तहरूले उद्धार कार्य ढिलो भएको भन्दै आलोचना गरेका छन् ।

घटनास्थलमा उद्धारकर्ताहरूले निरन्तर खोजी गरिरहे पनि धेरै परिवार अझै आफ्ना प्रियजनको अवस्थाबारे अनिश्चिततामा रहेका छन् ।

प्रान्तीय स्वास्थ्य अधिकारी डा सुमैया सैयदले बुधबार पत्रकारहरूसँग कुरा गर्दै ५० भन्दा बढी परिवारले डिएनए नमूना उपलब्ध गराइसकेको जानकारी दिए ।

कराचीका बजार र कारखानाहरूमा कमजोर पूर्वाधारका कारण आगलागीका घटना बेला–बेला हुने गरेको पाइन्छ । तर अधिकारीहरूका अनुसार यसपटकको आगलागीको परिमाण र मानवीय क्षति असाधारण र दुर्लभ रहेको छ ।

यस घटनाबारे छानबिन गर्न सरकारी समितिले अनुसन्धान सुरु गरिसकेको छ । तर आगलागी कसरी र किन भयो भन्ने विषयमा हालसम्म स्पष्ट कारण पत्ता लाग्न सकेको छैन । –रासस/एएफपी

प्रतिक्रिया