युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसिसी) ले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्द्धन गर्नु सकारात्मक भएको बताउनुभएको छ ।
एनसिसी युथ एक्सचेन्ज प्रोग्रामअन्तर्गतका सहभागीका लागि राष्ट्रपति निवास शीतल निवासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
‘यसले विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका प्रभावशाली नेतृत्वकर्ता र असल नागरिकको रूपमा रूपान्तरण गर्ने काम गर्दै आएको छ, यसले युवाहरूमा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुण विकास तथा प्रवद्र्धनको काम गर्नु खुसीको विषय हो’, राष्ट्रपति पौडेलले भने ।
उनले यसप्रकारको युवा आदानप्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रका सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदानप्रदान गर्ने सुनौलो अवसर प्राप्त गरेको बताए ।
नेपालका क्याडेटहरूले हालै भारत, भुटान, पाकिस्तान, र माल्दिभ्समा आयोजित युवा आदानप्रदान कार्यक्रममा भाग लिई आफूलाई थप विकास गर्ने अवसर पाएको तथा यस्ता कार्यक्रमबाट एकआपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थबारे बुझ्न र जान्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया