नाइजेरिया : सशस्त्र आक्रमणमा परि ३८ जनाको मृत्यु

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यको दुत्से दान अजिया गाउँमा हतियारधारी एक समूहको आक्रमणमा परी कम्तीमा ३८ जनाको मृत्यु भएको स्थानीय प्रहरी र अधिकारीहरूले शनिबार एएफपीलाई बताएका छन् ।
जाम्फारा प्रहरीका प्रवक्ता याजिद अबुबकरले भन्नुभयो , “यो आक्रमण बिहीबारको रातदेखि शुक्रबार सम्म दुर्गम गाउँमा भएको थियो, जहाँ ‘थोरै मात्र पहुँच मार्गहरू थिए’ तर अहिले यस क्षेत्र सामान्य अवस्थामा फर्किएको छ ।
स्थानीय विधायक हामिसु फारुले आक्रमणमा ५० जनाभन्दा बढीको मृत्यु भएको आशङ्का गरेका छन् । स्थानीय रूपमा ‘डाँकु’ भनिने सशस्त्र गिरोहहरू जाम्फारा, कात्सिना, कडुना, सोकोटो, केब्बी र नाइजर राज्यहरूमा फैलिएको जङ्गलमा आश्रयस्थल बनाएर बस्ने र गाउँहरूमा आक्रमण गर्ने गर्छन् ।
नाइजेरियाली सेना यी समूहहरूसँग लड्न धेरै वर्षदेखि यस क्षेत्रमा तैनाथ छ, तर हिंसा जारी छ। नाइजेरियामा हालैका महिनाहरूमा जिहादी समूह र डाँकुहरूद्वारा बढ्दो हिंसाले संयुक्त राज्य अमेरिकाको ध्यान आकर्षित गरेको छ ।
हिंसालाई इसाईहरूको ‘उत्पीडन’ को रूपमा चित्रण गर्ने वाशिङ्गटनले क्रिसमसको दिन उत्तरको सोकोतो राज्यमा नाइजेरियाली अधिकारीहरूसँग समन्वय गरेर अचानक हवाई आक्रमणको आदेश दिएको छ ।
सन् २००९ यता नाइजेरियामा बोको हराम र उसको प्रतिद्वन्द्वी गुट इस्लामिक स्टेट पश्चिम अफ्रिकी क्षेत्रको नेतृत्वमा जिहादी विद्रोहले देशको उत्तरपूर्वी क्षेत्रमा ४० हजारभन्दा बढीको मृत्यु भएको छ भने २० लाख विस्थापित भएका छन् । -रासस/एएफपी

प्रतिक्रिया