पश्चिम दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गरी भौतिक पूर्वाधारबाट वञ्चित रहेका जिल्ला विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको दाङका मुख्य निर्वाचन अधिकृतसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ ।
मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको नेतृत्वमा गएको तुलसीपुस्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले अतिसंवेदनशील बबई गाउँपालिका–१ भाङाबारीमा रहेको जनकल्याण आधारभूत विद्यालयमा रहेको मतदानस्थल र सोही वडामा पर्ने सरस्वती जनता माध्यमिक विद्यालय गङ्गटेमा मतदानस्थलको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानीलगायत विषयमा जानकारी लिएको छ । त्यसैगरी, मतदानमा खटिने कर्मचारीलाई बस्ने व्यवस्थालगायत टोलीले जानकारी लिइएको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिनुभयो । ती दुवै मतदानस्थल विकट तथा दुर्गम स्थानमा रहेका छन् ।
ती स्थानलाई दाङको कर्णाली भनेर चिनिने गरिन्छ । अनुगमन टोलीमा दाङ इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख उपसचिव पुष्प पौडेल, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जाली, निर्वाचन क्षेत्र नं २ सहायक निर्वाचन अधिकृत भुपाल भण्डारी, राष्ट्रिय समाचार समिति दाङका प्रमुखलगायतको सहभागिता थियो ।
निर्वाचन अधिकृत सिञ्जालीका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ मा ५६ वटा मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँचवटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको उनले जानकारी दिए ।

प्रतिक्रिया