सम्भावित क्षति न्यूनीकरण गर्न स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण

कञ्चनपुर । जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत रु ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो । नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नं १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ ।
ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी छनोट गरी काम अघि बढाइएको छ । उनका अनुसार वडा नं १ मा १२५ मिटर, वडा नं १२ मा १२५ मिटर, वडा नं ५ मा ८० मिटर र वडा नं ६ मा ८० मिटर तटबन्ध निर्माण भइरहेको छ । निर्माणको जिम्मा न्यू बम्बादेवी प्रालिलाई दिइएको छ ।
हाल निर्माण तीव्रगतिमा सञ्चालन भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘एक महिनाभित्र तटबन्ध निर्माण सम्पन्न हुन्छ’, उनले भने, ‘तटबन्ध निर्माणपछि नदीले गर्दै आएको भूक्षय नियन्त्रण हुनुका साथै बस्ती र कृषियोग्य जमिन जोगाउन सहयोग पुग्नेछ ।’
स्याली नदीले बर्सेनि वर्षायाममा बहाव बढाउँदा तट क्षेत्रका बस्ती र खेतीयोग्य जमिन कटान गर्ने समस्या दोहोरिँदै आएको छ । विशेषगरी वडा नं १, ५, ६ र १२ का विभिन्न टोल उच्च जोखिममा पर्दै आएका थिए ।
नगरपालिकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमै तटबन्ध निर्माण अघि बढाएको जनाएको छ । यसबाट बस्ती संरक्षण, कृषि उत्पादनको सुरक्षा तथा दीर्घकालीन रूपमा नदी व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले तटबन्ध निर्माण सुरु भएपछि राहत महसुस गरेको बताएका छन् । वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्न समयमै काम सुरु हुनु सकारात्मक भएको उनीहरूकोे भनाइ छ । –रासस

प्रतिक्रिया