पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुस् : सभापति थापा

नेपालखोज २०८२ फागुन १४ गते २०:२६

जानकी (बाँके) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन् ।

उनले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताए । बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गर्दै उक्त कुरा बताएका हुन् ।

बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा कांग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे । सुशासनका लागि आगामी ५ वर्षका लागि कांग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो ।

विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ति सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए ।

पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एकढिक्का रहेको र कुनै समस्या नभएको बताउनुभयो । चुनाव केन्द्रित कांग्रेसका सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत उनी आज बाँके आइपुगेका हुन् ।

प्रतिक्रिया