फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्छौं : सभापति थापा

नेपालखोज २०८२ फागुन १५ गते १९:०३

गण्डकी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने सङ्कल्प गरेका छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उनले देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताए ।

उक्त आयोगले २०४६ सालपछि प्रधानमन्त्री बन्नुुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्तिबाट नै छानबिन सुरु गर्ने बताउँदै उनले कसैलाई नछोडिने स्पष्ट पारे ।

उनले भने, ‘आफ्नो बा भए पनि छोड्दैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानबिन गर्छ ।’ मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा पाँच वर्षभित्र क्रान्तिकारी रुपान्तरण ल्याउने गरी पार्टीले सरकार बनाएर काम गर्ने उनले जिकिर गरे ।

पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने अवस्था रहेको र कुनै पनि द्वन्द्व अब नेपालले थेग्न नसक्ने बताउँदै उनले बढो जतनका साथ सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताए । गण्डकीमा परिणाम आउने गरी पर्यटन क्षेत्रको विकास गर्नु आवश्यक रहेको उनले बताए ।

कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आवेग र उत्तेजनामा नभइ सोचेर मतदान गर्न आम मतदातासँग आग्रह गरे । कांग्रेस बदलिएर परिवर्तनको सुरुवात गरेको बताउँदै उनले विशेष महाधिवेशनपछि नयाँ सोच र उत्साहका साथ पार्टी अघि बढेको बताए । प्रश्नहरू गरेर त्यसबाट सन्तुष्ट बन्दै कांग्रेसमा मतदान गर्न उहाँले आग्रह गरे ।

कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १, २ र ३ का उम्मेदवारहरू तिलक रानाभाट, माधवप्रसाद बाँस्तोला र मनोज गुरुङले आआफ्ना चुनावी प्रतिबद्धतासहित भनाइ राखेका थिए ।

कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सहसचिव एवं प्रवक्ता नवीन सिग्देल लगायतले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्पसहित आएको भन्दै कांग्रेसका उम्मेदवारलाई अत्यधिक बहुमतसहित विजयी गराउन आग्रह गरे ।

प्रतिक्रिया