सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

नेपालखोज २०८२ फागुन १६ गते ७:३६

भद्रपुर (झापा) । यहाँको बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२५ च ६०५० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर नगरपालिका–१३ चारआली निवासी २५ वर्षीय विशाल पौडेल गम्भीर घाइते भएका थिए ।

पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । कार चालक बिर्तामोड नगरपालिका–६ निवासी २५ वर्षीय चिराग सिन्हालाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ खड्काले जानकारी दिए ।

प्रतिक्रिया