रुसी आक्रमणमा युक्रेनमा ६ जनाको मृत्यु

नेपालखोज २०८२ फागुन २३ गते १४:४४

किएभ । रुसले रातभर ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गर्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने धेरै व्यक्ति घाइते भएका छन् । आक्रमणपछि देशभरि हवाई चेतावनी जारी गरिएको अधिकारीहरूले शनिबार बताएका छन् । सबैभन्दा ठूलो क्षति पूर्वी खार्किव क्षेत्रमा भएको छ ।

क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेग सिनेगुबोभका अनुसार खार्किवको किभस्की जिल्लामा रहेको बहुतले आवासीय भवनमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुँदा भवन लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो ।

सो भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको छ भने नजिकैको अर्को घर पनि क्षतिग्रस्त भएको उहाँले टेलिग्राममार्फत जानकारी दिए । खार्किवका मेयर इगोर तेरेखोभका अनुसार उक्त आक्रमणमा कम्तीमा १० जना घाइते भएका छन् ।

घाइतेमध्ये छ वर्ष र ११ वर्षका दुई बालक तथा १७ वर्षीया किशोरी पनि रहेका छन् । घटनाले आवासीय क्षेत्रमा ठूलो त्रास सिर्जना गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यसैबीच ड्निप्रोपेट्रोभस्क क्षेत्रमा पनि रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ । क्षेत्रीय प्रशासन प्रमुख ओलेक्सान्डर गान्झाका अनुसार निकोपोल जिल्लामा भएको आक्रमणमा एक जनाको ज्यान गएको र अर्का एक जना घाइते भएका छन् ।

उनका अनुसार रूसी सेनाले ड्रोन, तोपखाना र रकेट प्रयोग गरी उक्त क्षेत्रमा करिब २० पटक प्रहार गरेको थियो । दक्षिणी युक्रेनको जापोरिझिया क्षेत्रमा पनि रुसी ड्रोन आक्रमण भएको छ । क्षेत्रीय प्रशासन प्रमुख इभान फेडोरोभका अनुसार सो आक्रमणमा एक बालक घाइते भएका छन् ।

खार्किव क्षेत्रकै चुगुइभ सहरमा पनि ड्रोन आक्रमण भएको छ । सहरकी मेयर हलीना मिनायेभाले सहरको केन्द्रमा रहेको एक घरमा ड्रोन प्रहार हुँदा दुई जना घाइते भएको बताए ।

लगातार भइरहेको रुसी आक्रमणका कारण रातभरि युक्रेनभरि हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो । देशका धेरै भागमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको थियो । यसैबीच पोल्यान्डको वायु सेनाले पनि सतर्कता बढाएको जनाएको छ ।

पोल्यान्डले सामाजिक सञ्जाल एक्समार्फत युक्रेनसँग सीमा जोडिएका क्षेत्रको सुरक्षाका लागि आफ्ना सैन्य विमान परिचालन गरिएको जनाएको छ । ठूलो स्तरका रुसी आक्रमणका बेला सम्भावित जोखिमलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको बताइएको छ । –रासस/एएफपी

प्रतिक्रिया