सन्दर्भ अन्तरराष्ट्रिय महिला दिवस : अन्धकारमा ज्योति बाल्न सङ्घर्षरत महिला

नेपालखोज २०८२ फागुन २४ गते १०:१६

काठमाडौं । नेपालमा महिलामा दृष्टिविहीनताको समस्या पुरुषभन्दा बढी देखिन्छ। विभिन्न अध्ययनले पुरुषको तुलनामा महिलामा अन्धोपन हुने जोखिम करिब १.३ गुणा बढी रहेको देखाएको छ। मोतियाबिन्दु, उमेर–सम्बन्धित म्याकुलर डिजेनेरेसन (एएमडी) र सुक्खा आँखा जस्ता समस्या पनि महिलामा बढी देखिन्छन्।

नेपालमा ४० हजारभन्दा बढी दृष्टिविहीन मानिस रहेकामा करिब ६० प्रतिशत महिला छन्। दृष्टि क्षमता कम भएका व्यक्तिमध्ये पनि आधाभन्दा बढी महिला नै छन्। आर्थिक अवस्था कमजोर हुनु, जनचेतनाको कमी, यातायातको अभाव, पारिवारिक जिम्मेवारी, निर्णय लिन नसक्ने अवस्था र आर्थिक निर्भरता जस्ता कारणले महिलाको आँखा उपचार सेवामा पहुँच कम रहेको बताइन्छ।

आँखा स्वास्थ्य सेवामा महिला नेतृत्व

नेपालमा आँखा स्वास्थ्य सेवाको विस्तार र अन्धोपन न्यूनीकरणमा महिलाले नेतृत्व तहमा पुगेर महत्वपूर्ण भूमिका खेलेका छन्। नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित विभिन्न आँखा अस्पतालमा कार्यरत महिला चिकित्सक र व्यवस्थापन समितिका नेतृत्वले सेवा विस्तार, जनशक्ति उत्पादन र समुदायमा पहुँच विस्तारमा योगदान दिइरहेका छन्।

प्रा. डा. सविना श्रेष्ठ

कीर्तिपुर आँखा अस्पताल व्यवस्थापन समितिको अध्यक्षका रूपमा कार्यरत सविना श्रेष्ठ वरिष्ठ नेत्ररोग विशेषज्ञ हुन्। बाल नेत्ररोग क्षेत्रमा विशेष दक्षता रहेको छ। बङ्गलादेशबाट एमबिबीएस, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा एमडी र भारतबाट बाल नेत्ररोगसम्बन्धी फेलोसिप अध्ययन पूरा गरेका छन्।

अस्पताल व्यवस्थापन, सेवा विस्तार, आँखा शिविर सञ्चालन र जनचेतना अभियानमार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा आँखा उपचार सेवा पु-याउने काममा सक्रिय छन्। सन् २०२५ मा नेपाल अप्थाल्मिक सोसाइटीले ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो।

डा. सुलक्ष्मी कटुवाल

आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जकी चिफ मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवाल अनुभवी नेत्ररोग विशेषज्ञ हुन्। हालसम्म करिब एक लाखभन्दा बढी शल्यक्रिया गरिसकेकी छन् भने १० लाखभन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गरिसकेकी छन्।

रुसको ट्भेर स्टेट मेडिकल युनिभर्सिटीबाट एमबिबीएस र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट नेत्ररोग विषयमा एमडी अध्ययन पूरा गरेका छन्। सन् २००७ देखि राप्ति आँखा अस्पतालमा सेवा सुरु गरी विभिन्न जिम्मेवारी सम्हाल्दै २०१५ देखि चिफ मेडिकल डाइरेक्टरको जिम्मेवारीमा छन्।

प्रा. डा. सुशीला पटेल चौधरी

लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानकी चिफ मेडिकल डाइरेक्टर सुशीला पटेल चौधरी कोर्निया रोग उपचारमा सक्रिय नेत्ररोग विशेषज्ञ हुन्। ४० हजारभन्दा बढी शल्यक्रिया र करिब दुई लाख बिरामीको उपचार गरिसकेकी छन्।

अनुसन्धान क्षेत्रमा सक्रिय रहँदै राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलमा १८ वैज्ञानिक लेख प्रकाशित गरेका छन्। बङ्गलादेशमा भएको विद्रोहका क्रममा आँखामा चोट लागेका बिरामीको उपचारमा समेत योगदान दिएका थिए।

डा. बबिता गुरुङ

हिमालय आँखा अस्पताल पोखराकी मेडिकल डाइरेक्टर बबिता गुरुङले १७ हजारभन्दा बढी शल्यक्रिया र एक लाख ५३ हजारभन्दा बढी बिरामीको उपचार गरिसकेकी छन्।

बङ्गलादेशको युएसटिसीबाट एमबिबीएस र त्रिभुवन विश्वविद्यालयअन्तर्गत बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट एमडी (नेत्ररोग) अध्ययन पूरा गरेका छन्। सन् २००९ देखि हिमालय आँखा अस्पतालमा कार्यरत छन्।

डा. पुष्पा गिरी

भरतपुर आँखा अस्पतालकी चिफ मेडिकल डाइरेक्टर पुष्पा गिरीले २० हजारभन्दा बढी शल्यक्रिया सम्पन्न गरिसकेकी छन् भने एक लाखभन्दा बढी बिरामीलाई ओपिडी सेवा दिएका छन्।

मधुमेहजन्य रेटिनोप्याथी, कोर्निया रोग र क्याटर्याक्ट सर्जरीसम्बन्धी विभिन्न अनुसन्धानात्मक लेख प्रकाशित भएका छन्। कोर्निया सेवा विस्तार र आँखा बैंक स्थापना अभियानमा समेत सक्रिय छन्।

डा. रिमा शाह

बर्दिया आँखा अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट रिमा शाह युवा नेत्ररोग विशेषज्ञ हुन्। हालसम्म ३०० मोतियाबिन्दु शल्यक्रिया, १८० प्टेरिजियम शल्यक्रिया र १२ हजारभन्दा बढी बिरामीलाई ओपिडी सेवा प्रदान गरिसकेकी छन्।

बङ्गलादेशबाट एमबिबीएस र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी (नेत्ररोग) अध्ययन पूरा गरेका छन्। ग्रामीण क्षेत्रमा आँखा सेवा विस्तारमा सक्रिय छन्।

डा. बेबिका फुयाँल

पाल्पा लायन्स लाकौल आँखा अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट बेबिका फुयाँल ग्रामीण क्षेत्रमा अन्धोपन न्यूनीकरण अभियानमा सक्रिय छन्। हालसम्म १,५०० भन्दा बढी मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गरिसकेकी छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत किस्ट मेडिकल कलेजबाट एमबिबीएस र काठमाडौँ मेडिकल कलेजबाट नेत्ररोग विषयमा एमडी अध्ययन पूरा गरेका छन्। पाल्पा, गुल्मी र अर्घाखाँचीमा नियमित शल्यक्रिया शिविर सञ्चालन भइरहेका छन्।

मञ्जु कण्डेल

डा. विनोद निता कण्डेल आँखा अस्पतालको अस्पताल व्यवस्थापन समितिको अध्यक्ष मञ्जु कण्डेल सामुदायिक आँखा स्वास्थ्य सेवा र अन्धोपन न्यूनीकरण अभियानमा सक्रिय छन्।

उनको नेतृत्वमा अस्पताललाई प्राथमिक आँखा उपचार केन्द्रबाट स्तरोन्नति गरी सेकेन्डरी लेभल अस्पताल बनाइएको छ। निःशुल्क आँखा शिविर, जनचेतना कार्यक्रम र ग्रामीण क्षेत्रमा सेवा विस्तारमा महत्वपूर्ण भूमिका छ ।

नेपालमा महिलामा दृष्टिविहीनताको समस्या बढी भए पनि आँखा स्वास्थ्य सेवाको नेतृत्वमा महिलाको भूमिका बलियो हुँदै गएको छ। उपचार सेवा विस्तार, शल्यक्रिया शिविर, जनचेतना कार्यक्रम र अनुसन्धानमार्फत महिलाले अन्धोपन न्यूनीकरण अभियानलाई अघि बढाइरहेका छन्।

उनले अन्धोपन न्यूनीकरण, निःशुल्क आँखा शिविर सञ्चालन, समुदाय–केन्द्रित सचेतना कार्यक्रम विस्तार तथा ग्रामीण क्षेत्रमा सेवा पहुँच अभिवृद्धिमा नेतृत्वदायी योगदान पुर्याएकी छन् ।

प्रतिक्रिया