मध्यपूर्व युद्ध : तनाव र आक्रमण बढ्दै

नेपालखोज २०८२ फागुन २४ गते १९:५९

पेरिस । मध्यपूर्वमा जारी युद्ध दोस्रो सातामा प्रवेश गर्दा आक्रमण, विस्फोट र प्रतिकारात्मक कारबाहीहरू तीव्र हुँदै गएका छन् । इरान, इजरायल र खाडी क्षेत्रका विभिन्न देशहरूमा भएका पछिल्ला घटनाक्रमले क्षेत्रीय तनाव थप बढाएको छ भने ऊर्जा आपूर्ति, समुद्री मार्ग र सुरक्षा अवस्थामाथि गम्भीर प्रभाव परेको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानी राजधानी तेहरानमा इन्धन वितरण अस्थायी रूपमा रोकिएको एक अधिकारीले बताएका छन् । तेहरान र आसपासका पाँच स्थानमा रहेका इन्धन भण्डारण तथा वितरण केन्द्रमा आक्रमण भएपछि ठूला आगलागी भएका थिए । बिहानैदेखि सहरका विभिन्न भागमा बाक्लो कालो धुवाँ देखिएको एएफपीका पत्रकारहरूले बताएका छन् ।

यसैबिच इरानको सर्वोच्च नेतृत्व परिवर्तन प्रक्रियाले पनि गति लिएको छ । देशको अर्को सर्वोच्च नेता चयन गर्ने जिम्मेवारी पाएको धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ भित्र सम्भावित उम्मेदवारबारे सहमति बनेको जनाइएको छ, तर नयाँ नेताको नाम भने अझै सार्वजनिक गरिएको छैन । इरानी अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तराधिकारी चयनमा प्रभाव पार्ने दाबी अस्वीकार गरेका छन् । उता इजरायली सेनाले भने ‘कुनै पनि उत्तराधिकारी वा त्यस्तो नियुक्ति गर्न खोज्ने व्यक्ति’ लाई लक्ष्य बनाइने चेतावनी दिएको छ ।

लेबनानमा पनि द्वन्द्व फैलिएको छ । बेरुतस्थित एक होटलमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली सेनाले उक्त आक्रमण इरानको रिभोलुसनरी गार्ड्सको कुद्स फोर्ससँग सम्बन्धित कमान्डरहरूलाई लक्षित गरी गरिएको ‘सटीक कारबाही’ भएको दाबी गरेको छ ।

दक्षिणी लेबनानमा पनि इजरायलले इरान समर्थित हिजबुल्लाहसँग लडाइँ जारी राखेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० भन्दा बढी सहर र गाउँमा भएको हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।

इरानभित्र पनि विभिन्न स्थानमा विस्फोटका घटना भएका छन् । आइतबार मध्य इरानको याजद प्रान्तमा विस्फोट भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । इरना समाचार एजेन्सीका अनुसार याजद सहरको बाहिरी क्षेत्रमा विस्फोट भएको हो, तर यसको कारण तत्काल स्पष्ट हुन सकेको छैन । यसअघि तेहरान र इस्फहानसहित देशका अन्य भागहरूमा पनि विस्फोटका खबर आएका थिए ।

समुद्री क्षेत्रमा पनि तनाव देखिएको छ । संयुक्त अरब इमिरेट्सको झण्डा बोकेको एक टगबोट शुक्रबार होर्मुज जलडमरुमा विस्फोट भएपछि डुबेको थियो । इन्डोनेसियाको विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका सात चालक दलमध्ये तीन जना इन्डोनेसियाली सदस्य अझै बेपत्ता छन् । एक जना चालक दलका सदस्य ओमानमा उपचाररत छन् भने अन्यको खोजी कार्य जारी रहेको बताइएको छ ।

होर्मुज जलडमरु विश्वका सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास पारवहन हुन्छ । युद्ध सुरु भएपछि यस मार्ग हुँदै जाने जहाजहरूमा आक्रमणका घटनाहरू बढेका छन् र समुद्री यातायात प्रभावित भएको छ । खाडी क्षेत्रका विभिन्न देशहरूले पनि नयाँ आक्रमणको जानकारी दिएका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले आफ्ना क्षेत्रमा मिसाइल वा ड्रोन आक्रमण प्रयास भएको बताएका छन् ।

कुवेतको गृह मन्त्रालयका अनुसार देशमा ड्युटीमा रहेका दुई सीमा रक्षकको मृत्यु भएको छ । सेनाले ड्रोन आक्रमण देशको अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण ट्याङ्कीलाई लक्ष्य बनाइएको जनाएको छ ।

साउदी अरेबियाको रक्षा मन्त्रालयले राजधानी रियादस्थित कूटनीतिक क्षेत्रमा लक्षित आक्रमण प्रयाससहित १५ वटा ड्रोन रोकेको जानकारी दिएको छ । बहराइनले मिसाइलको भग्नावशेष खस्दा तीन जना घाइते भएको र समुद्री पानीलाई पिउने पानीमा रूपान्तरण गर्ने डिसेलिनेसन प्लान्ट क्षतिग्रस्त भएको जनाएको छ ।

इरानले भने आफ्नो सैन्य क्षमता अझै बलियो रहेको दाबी गरेको छ । इरानको रिभोलुसनरी गार्ड्सका प्रवक्ताले देशको सेनाले छ महिनासम्म ‘तीव्र युद्ध’ लड्न सक्ने बताएका छन् । उनका अनुसार आगामी दिनहरूमा अझ उन्नत मिसाइल प्रणाली प्रयोग गर्न सकिनेछ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि छिमेकी देशहरूको भूमिबाट आक्रमण भए त्यसको जवाफ दिन तेहरान बाध्य हुने बताएका छन् । राज्य टेलिभिजनमा प्रसारित टिप्पणीमा उहाँले यस्तो प्रतिक्रिया कुनै देशसँग विवाद सिर्जना गर्न नभई सुरक्षाका लागि आवश्यक कदम हुने बताए । एक दिनअघि पेजेस्कियानले आफ्नो देशविरुद्ध आक्रमणका लागि अमेरिकी सैन्य आधार उपलब्ध गराएका छिमेकी देशहरूसँग क्षमा याचना पनि गरेका थिए ।

यसबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको एक प्राथमिक विद्यालयमा भएको घातक आक्रमणका लागि तेहरानलाई दोष दिएका छन् । इरानी अधिकारीहरूका अनुसार उक्त घटनामा कम्तीमा १५० जनाको मृत्यु भएको छ ।

एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आक्रमण इरानकै कारण भएको दाबी गरेका थिए । तर न्युयोर्क टाइम्सको अनुसन्धानले उक्त घटनामा सम्भवतः अमेरिकी सेना जिम्मेवार हुन सक्ने सङ्केत गरेको छ । एएफपीले भने घटनास्थलमा पहुँच नपाएकाले त्यसको स्वतन्त्र पुष्टि गर्न सकेको छैन ।

युद्धसँग सम्बन्धित अर्को घटनामा अमेरिकी पनडुब्बीसँगको ठक्करपछि डुबेको इरानी युद्धपोतका चालक दलका केही सदस्यलाई श्रीलङ्काको अस्पतालबाट डिस्चार्ज गरिएको छ । २२ जना चालक दल सदस्य उपचारपछि अस्पतालबाट बाहिरिएका छन् भने अन्य १० जनाको उपचार जारी रहेको बताइएको छ ।

श्रीलङ्काले अन्तर्राष्ट्रिय पानीमा भएको उक्त दुर्घटनापछि जहाज डुबेको स्थानबाट ८४ जनाको शव फेला पारेको जनाएको छ भने ६० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । आक्रमणपछि अर्को इरानी युद्धपोतले श्रीलङ्काको समुद्री क्षेत्रमा शरण लिएको जानकारी पनि सार्वजनिक गरिएको छ । -रासस/एएफपी

प्रतिक्रिया