रुकुम पश्चिममा दुई किशोरीको शव फेला, एक किशोरी बेपत्ता

त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा आज दुई किशोरीको शव फेला परेको छ ।
उनीहरुसँगै गएकी एक किशोरी भने बेपत्ता भएकी छन् । बेपत्ता किशोरीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला ओली र सोही स्थानकी १२ वर्षीया कल्पना ओलीको शव भाग्ले नजिकै सानीभेरी नदी किनारामा फेला परेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
उहाँका अनुसार १२ वर्षीया सपना ओलीको खोजी भइरहेको छ । उर्मिला र कल्पनाको ५०० मिटर दूरीको अन्तरमा शव फेला परेको हो । उनीहरु हिजो छिमेकीको विवाहमा गएका थिए । घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक पुनसहितको प्रहरी टोली र अस्थायी प्रहरी पोष्ट छिनखेतबाट प्रहरी टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

प्रतिक्रिया