देश, लोकतन्त्र र संविधानका लागि नयाँ जनमत उपयोग हुन सकोस् : पूर्वराष्ट्रपति डा यादव

नेपालखोज २०८२ चैत ३ गते १७:४७

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलद्वारा लिखित ‘सङ्कल्पन’ पुस्तकको आज यहाँ लोकार्पण गर्र्दै उनले जेनजी युवाहरूको आन्दोलन, परिवर्तन र निर्वाचनको परिणामलाई सबैले स्वीकार गर्नुपर्ने र रास्वपाले त्यसलाई देश बनाउन सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

‘विसं २०१५ मा पनि नेपाली काँग्रेसले दुई तिहाइ ल्याएर विपी कोइराला प्रधानमन्त्री हुनुभएको थियो । त्यसले पूरा समय काम गर्न पाएन । हालको जनमत त्यसरी खेर नजाओस्’, पूर्वराष्ट्रपति डा यादवले भने, ‘देश, संविधान, लोकतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष, समावेशीता सबै बचोस् । संविधानको पालनाको काम होस्, तर आगामी निर्वाचनमा प्रतिपक्ष नरहने गरी आफू मात्रै जित्नुपर्छ भन्ने सोच कसैले राख्नुहुँदैन । प्रतिपक्षविना लोकतान्त्रिक प्रणाली बलियो हुनसक्दैन ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा बहुमत प्राप्त पार्टीले देशको निर्माणको नेतृत्व लिनुपर्ने र त्यसमा अरु सबै पार्टी र नागरिकले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । मुलुकमा विसं २०७४ यता ‘कारोबारी राजनीति’ र गठबन्धनको संस्कार चलिरहेकामा पछिल्लो जनमतले त्यसमा ‘ब्रेक’ लगाएको उल्लेख गर्दै उनले अब विगतका गल्ती नदोहो¥याउँदै मुलुक अगाडि बढ्नुपर्ने धारणा राखे ।

पूर्वमन्त्री डा रिजालले लोकतान्त्रिक व्यवस्थामा सूचना प्रविधिलाई गलत मनसाय राखेर नियमन गर्ने वा प्रतिपक्षविनाको राजनीतिक प्रणालीको कल्पना गरिनु उचित नहुने बताउनुभयो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रमा जिम्मेवारीमा रहेका सबै थप जिम्मेवार हुनुपर्नेमा जोड दिँदै जनताले अनुभूत हुने गरी लोकतन्त्रलाई आत्मसात गरे । उनले पाखरेलद्वारा प्रकाशित पुस्तकले अखबारी लेखनले पनि विचार निर्माण गर्न सक्छ र कृति बन्नसक्छ भन्ने दृष्टान्त दिएको बताए ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘सङ्कल्पन’ पुस्तक लेखरूको सङ्ग्रह मात्रै नभएर समयको दस्तावेज पनि भएको टिप्पणी गर्दै युवाहरूको भावना र लोकतन्त्रको सबलीकरणबारे लेखकले दूरदृष्टि प्रस्तुत गरेको बताए । लेखक पोखरेलले समकालीन राजनीति, समाज, लोकतन्त्र, विचार र पत्रकारिताका विषयमा आफूले देखेका समय र सन्दर्भलाई सङ्कलन गरेर पुस्तकका रूपमा ल्याएको बताए । पुस्तकको प्रकाशन गोरक्ष राष्ट्रिय दैनिकले गरेको हो

प्रतिक्रिया