डोलेश्वर भिलेज रिसोर्टले आईपीओ निष्कासन गर्ने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस ले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) गर्ने सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाएको छ । कम्पनीले सार्वजनिक शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेश गर्ने तयारी गरिरहेको जनाएको छ ।
कम्पनीको आज सम्पन्न विशेष साधारण सभाले जारी पूँजीको ३० प्रतिशत बराबर १६,२०,००० कित्ता साधारण शेयर प्रति कित्ता रु. १०० का दरले प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वि.सं. २०७६ सालदेखि सञ्चालनमा रहेको उक्त रिसोर्ट भक्तपुर जिल्लाको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ । चारतारे होटलमा स्तरोन्नति हुने प्रक्रियामा रहेको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
प्राकृतिक सौन्दर्यसँगै अत्याधुनिक सुविधा सहितको आरामदायी बसोबास, विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि उपयुक्त स्थलका रूपमा परिचित यस रिसोर्ट प्रसिद्ध डोलेश्वर महादेव मन्दिरबाट करिब २०० मिटरको दूरीमा अवस्थित रहेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ। साथै, केयर रेटिङ नेपालले कम्पनीलाई बि प्लस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया