गिरिजा प्रसाद कोइराला: एक व्यक्तित्व, जसले इतिहासको दिशा बद्ल्यो

जयप्रकाश आनन्द २०८२ चैत ८ गते १६:०९

नेपालको आधुनिक राजनीतिक इतिहासमा केही यस्ता पात्रहरू छन्, जसलाई सामान्य मापदण्डले नाप्न सकिँदैन। गिरिजा प्रसाद कोइराला त्यही श्रेणीका एक नेता हुन्। उहाँलाई मन पराउन वा नपराउन सकिन्छ, उहाँको शैलीको आलोचना गर्न सकिन्छ, तर उहाँलाई उपेक्षा गर्न सकिँदैन।

उहाँको स्मृतिमा लेखिएका अनेकौँ लेख, टिप्पणी र अभिव्यक्तिहरू पढ्दा एउटा कुरा प्रस्ट देखिन्छ—गिरिजा प्रसाद कोइरालालाई अझै पनि पूर्ण रूपमा बुझिएको छैन। कतिपयले उहाँलाई अत्यधिक महिमा मण्डित गरेका छन्, कतिपयले अत्यन्तै सङ्कुचित दृष्टिले हेरेका छन्। तर इतिहास न त स्तुति हो, न त निन्दा नै हुनसक्छ—इतिहास त तथ्य, सन्दर्भ र परिणामको समुच्चय हो।

इतिहास बनाम प्रोपेगान्डा

आजको समयमा एउटा ठुलो समस्या के छ भने – भावनाले तथ्यलाई प्रतिस्थापन गर्न थालेको छ । तथ्य, प्रमाण र सन्दर्भको संयोजनबाट लेखिएको कुरा मात्र इतिहास बन्छ। तर असत्य, अर्धसत्य, र पूर्वाग्रहमा आधारित लेखन – प्रोपेगान्डा मात्र हुन्छ। गिरिजा प्रसाद कोइरालाको मूल्याङ्कन गर्दा यही आधार आवश्यक हुन्छ। किनकि उहाँको जीवन – सङ्घर्ष, विवाद, निर्णय र परिणामको जटिल मिश्रण हो।

संवैधानिक राजतन्त्रबाट गणतन्त्रसम्म: एक वैचारिक रूपान्तरण

नेपाली काँग्रेसको स्थापना र प्रारम्भिक वैचारिक यात्रा संवैधानिक राजतन्त्रको पक्षमा थियो। वि.सं. २००४ सालदेखि पार्टीले यही धार समातेको थियो। तर इतिहासले कहिलेकाहीँ यस्ता मोडहरू ल्याउँछ, जहाँ पुराना मान्यताहरूलाई निरन्तरता दिनु नै असम्भव हुन्छ। गिरिजा प्रसाद कोइरालाले यही मोडमा हस्तक्षेप गर्नुभयो। उहाँले नेपाली काँग्रेसलाई केवल नेतृत्व मात्र दिनुभएन – उहाँले त्यसको वैचारिक पुनर्जन्म गराउनुभयो।

संवैधानिक राजतन्त्रको समर्थक पार्टीलाई गणतन्त्रको नेतृत्वकर्ता बनाउनु – यो निर्णय आकस्मिक थिएन, न त केवल परिस्थितिजन्य। यो गहिरो राजनीतिक मूल्याङ्कन र दीर्घकालीन दृष्टिको परिणाम थियो।

राजा, माओवादी र लोकतान्त्रिक शक्ति: त्रिकोणीय शक्ति–सङ्घर्ष

माओवादी जनयुद्धको उत्तरार्द्धमा नेपालको राजनीति तीव्र ध्रुवीकरणमा पुगेको थियो।एकातर्फ राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन-जसको रणनीति स्पष्ट थियो: माओवादीलाई उपयोग गरेर मुख्य धारका राजनीतिक दलहरूलाई कमजोर पार्ने। अर्कोतर्फ लोकतान्त्रिक शक्तिहरू – तर विभाजित, कमजोर र रणनीतिक रूपमा अन्योलमा।

यही जटिल परिस्थितिमा गिरिजा प्रसाद कोइरालाले निर्णायक भूमिका खेले। उहाँले बुझ्नुभयो – माओवादीलाई अलग राखेर प्रजातन्त्र जोगाउन सम्भव छैन। राजाको रणनीतिलाई विफल पार्न – माओवादीलाई प्रणालीभित्र ल्याउनु आवश्यक छ। त्यसैले उहाँले जोखिम लिनुभयो। माओवादीसँग सहकार्य गर्नुभयो। शान्ति प्रक्रिया सुरु गराउनुभयो। यो निर्णय आज पनि विवादित छ। तर एउटा प्रश्न अनुत्तरित छ – यदि त्यो निर्णय नभएको भए, नेपालको राजनीतिक यात्रा कता जान्थ्यो ?

ईख (इगो) कि ऐतिहासिक उत्प्रेरणा ?

गिरिजा प्रसाद कोइरालाको व्यक्तित्वमा एउटा विशेषता सधैँ चर्चामा रह्यो – उहाँको ईख, उहाँको आत्मसम्मान, उहाँको अडान। धेरैले यसलाई कमजोरी भने। तर इतिहासका केही निर्णायक क्षणहरूमा यही गुण परिवर्तनको उत्प्रेरक बन्न पुग्यो। शाही सत्ताकलाको एक प्रसङ्ग – दरबारमा आयोजित बैठक। त्यहाँ उहाँको अपमान गरियो। बद्री मण्डलमार्फत गरिएको त्यो व्यवहार केवल व्यक्तिगत अपमान थिएन- त्यो सन्देश थियो: राजनीतिक नेतृत्वको हैसियत दरबारको नजरमा कति छ। त्यो क्षण गिरिजा प्रसाद कोइरालाका लागि निर्णायक बन्यो। त्यो अपमानले उहाँको भित्रको अडानलाई कठोर बनायो।

(एक मित्र Shree Krishna Pangeni को अनुरोध) मा थप: दरबार निश्चित शिष्टाचार (प्रोटोकोल) मा चल्दछ। सबै व्यवस्थित रहने गर्छ। ज्ञानेन्द्रको शाही सत्ताका बेला राजनीतिक सहमतिका लागि दरबारमा सर्वपक्षीय बैठक भयो। पूर्व प्रम गिरिजा बाबुसँग पनि उपस्थितिको पूर्व जानकारी लिइयो, उहाँले उपस्थिति रहने जनाउनु भयो। गिरिजा बाबु समय मै दरबार पुग्नु भयो। पशुपतिभक्त महर्जनले उहाँलाई रिसिभ गरी बैठक स्थलमा लिई जानु भयो, जहाँ सबै जना बसेका थिए। पूर्व प्रमको लाइनमा उहाँका लागि कुनै कुर्सी राखिएको थिएन। यतिकै मा राजा आए, कोइराला उभिएकै हुनुहुन्थ्यो। बद्री मण्डल जो राजाका उप प्रम थिए। कुर्सीमा बसेरै भने-“ए गिरिजा बाबु पनि आउनु भएको छ, तेता भएको एउटा कुर्सी लिई आउँ!” ज्ञानेन्द्र मौन नै थिए। गिरिजा बाबु फनक्क फर्केर बाहिरिनु भयो। नारायणहिटीबाट निस्किनु भयो। उहाँले यसलाई “नियोजित उपमान” भन्नु भयो।)

त्यसपछि उहाँको राजनीति सम्झौताबाट प्रतिरोधतर्फ मोडियो। यस अर्थमा भन्न सकिन्छ – नेपालमा राजतन्त्रको अन्त्य केवल वैचारिक प्रक्रिया मात्र थिएन, त्यसमा व्यक्तिगत अपमान र आत्मसम्मानको मनोवैज्ञानिक पक्ष पनि गहिरो रूपमा जोडिएको थियो।

बाल्यकालको अनुभवदेखि राजनीतिक निष्कर्षसम्म

गिरिजा प्रसाद कोइरालाको मनमा राजतन्त्रप्रति प्रश्न एकै पटक उत्पन्न भएको होइन। श्री ३ को शासनकालमा – उहाँका पिता कृष्णप्रसाद कोइरालाको मृतदेहलाई त्रिपुरेश्वर धर्मशालाबाट अपमानजनक रूपमा हटाइएको घटना – त्यो केवल पारिवारिक पीडा थिएन, त्यो राज्यसत्ताको चरित्रको प्रत्यक्ष अनुभव थियो। त्यस दिन एउटा प्रश्न जन्मियो – “श्री ३ के अर्थमा राजा होइन?” पछि, प्रजातन्त्रको सङ्घर्षमा – राजाको आदेशमा भएका दमन, हत्या र अत्याचारहरू देख्दा अर्को प्रश्न उठ्यो – “श्री ५ हरू चरित्रमा श्री ३ भन्दा कसरी फरक छन्?” यी प्रश्नहरू क्रमशः राजनीतिक निष्कर्षमा रूपान्तरित भए। अन्ततः त्यसको उत्तर एउटै रह्यो – व्यवस्था परिवर्तन।

बीपीको विचार, गिरिजाको कार्यान्वयन

वि.सं. २०२६ पछिको भारत प्रवासमा बीपी कोइरालाले ‘तरुण’ पत्रिका सुरु गर्नुभयो। त्यो केवल प्रकाशन थिएन—त्यो एउटा वैचारिक घोषणापत्र थियो। “मेरो बोल्ने मुखलाई न थुन…” जस्ता पंक्तिहरूले निराश राजनीतिक वातावरणमा ऊर्जा भरे। बीपीले स्पष्ट गर्नुभयो – सम्झौतावाद होइन, परिवर्तनको नेतृत्व आवश्यक छ।गिरिजा प्रसाद कोइरालाले यही विचारलाई व्यवहारमा उतार्नुभयो। बीपीले बीउ रोप्नुभयो, गिरिजाले त्यसलाई फलाउनुभयो।

गलत बुझाइहरूको निरन्तरता

गिरिजा प्रसाद कोइराला सधैँ विवादको केन्द्रमा रहनुभयो।

२०३७ पछि – दरबारसँग निकट भएको आरोप

२०४२ मा – “विन्तिपत्रे राजनीति” को आरोप

शाही सत्ताकालमा – असम्भव माग गर्ने नेता

जीवनको अन्त्यतिर – राष्ट्रपति पदको लोभी

तर इतिहासको विशेषता के हो भने – तत्कालीन आलोचना र दीर्घकालीन मूल्याङ्कन फरक हुन्छन्। आज फर्केर हेर्दा – उहाँका धेरै निर्णयहरू समयभन्दा अगाडि देखिन्छन्।

गणतन्त्र: आकस्मिक घटना होइन

नेपालमा गणतन्त्र घोषणा आकस्मिक घटना थिएन। यो योजनाबद्ध, क्रमिक र रणनीतिक प्रक्रिया थियो। सात दलको समझदारीमा स्पष्ट रूपमा गणतन्त्रको उल्लेख नभए पनि – गिरिजा प्रसाद कोइरालाको राजनीतिक सोच त्यस दिशामा उन्मुख भइसकेको थियो। उहाँले परिस्थिति निर्माण गर्नुभयो, सहयात्री तयार गर्नुभयो, र अन्ततः घोषणा गराउनुभयो। यो प्रक्रिया बुझ्न नसक्दा – गणतन्त्रलाई आकस्मिक वा बाह्य प्रभावको परिणाम भनेर गलत व्याख्या गरिन्छ।

इतिहासको उत्तर: एक व्यक्तिको माध्यमबाट

अन्ततः गिरिजा प्रसाद कोइरालाले आफ्नो जीवनभर बोकेको प्रश्नको उत्तर दिनुभयो – श्री ५ हरू किन श्री ३ भन्दा फरक देखिएनन् ? श्री ३ हरू किन शासनको नैतिक आधार बन्न सकेनन्? उत्तर एउटै थियो – राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना।

अन्तिम शब्द

गिरिजा प्रसाद कोइरालालाई पूर्ण रूपमा स्वीकार गर्नु वा अस्वीकार गर्नु – दुवै सरल विकल्प हुन्। तर उहाँलाई बुझ्नु—त्यो कठिन छ। उहाँ न त केवल लोकतान्त्रिक नेता हुनुहुन्थ्यो, न त केवल सत्ता–केन्द्रित राजनीतिज्ञ। उहाँ एउटा सङ्क्रमणकालीन व्यक्तित्व हुनुहुन्थ्यो ।

जसले इतिहासको एउटा मोडलाई अन्त्यसम्म पुर्‍यायो। यस अर्थमा— गिरिजा प्रसाद कोइराला केवल नेता होइनन्, नेपालको राजनीतिक यात्राको दिशा बदल्ने एक निर्णायक पात्र हुन्।

प्रतिक्रिया