७० लाख सुकुम्बासी सडकमा उत्रे कसैले रोक्न सक्दैनः भूमि आयोगका पूर्वउपाध्यक्ष खड्का

काठमाडौं । हालै काठमाडौँको सिफल र टोखामा सुशीला कार्की सरकारले जबरजस्ती डोजर लगाएकोमा पीडितहरूले आक्रोश व्यक्त गरेका छन् । बुधवार राजधानीको संवाद डबलीमा अखिल नेपाल सुकुम्बासी संघले पत्रकार सम्मेलनको आयोजना गरी संविधान विपरीतको कार्य भन्दै संघर्षको चेतावनीसमेत दिएको छ ।
राष्ट्रिय भूमि आयोगका पूर्वउपाध्यक्ष नहेन्द्र खड्काले हालै काठमाडौंका सुकुम्बासी बस्तीहरुमा सरकारले डोजर लगाएर राज्य आतंक फैलाएकोे आरोप लगाए । नेपाली कम्युनिस्ट पार्टीका नेतासमेत रहेका खड्काले कार्की नेतृत्वको चुनावी सरकारले संविधान विपरित कार्य मात्रै नगरेर अमानवीय हर्कत गरेकोसमेत भएको बताएका छन् ।
खड्काले देशमा ७० लाख सुकुम्बासी तथा भूमिहीन रहेको र ती सबै विद्रोहमा उत्रिएमा कसैले पनि रोक्न नसक्ने भन्दै सुकुम्बासीमाथि खेलवाड नगर्न चेतावनी दिए । खड्काले आफू राष्ट्रिय भूमि आयोगमा हुँदा १३ लाख ५० हजार भन्दा बढी परिवारको नयाँ निबेदन र ८४ हजार ६ सय परिवारको पुराना आयोगका अधुरा कामहरु सम्पन्न गर्ने निवेदन परेको, १० लाख ५२ हजार परिवार भन्दा धेरै परिवारका निवेदन लगत प्रविष्टि(डाटा इन्ट्री) भई आवश्यक छानविन र प्रमाणिकरणको प्रक्रियामा रहेको जनाए । खड्काले आफ्नो कार्यकालमा ५ हजार ३ सय ५३ परिवारलाई लालपूर्जा वितरण गरेको र २ लाख ५० हजार भन्दा धेरै कित्ता जमिन नापजाँच गरेको दाबी गरे ।
अखिल नेपाल सुकुम्बासी संघको वरिष्ठ उपाध्यक्ष टिकाराम गुरुङले भर्खरै सम्पन्न निर्वाचनपश्चात प्रतिनिधिसभाका सदस्यहरूले सपथ समेत नखाएको र सरकार बनिनसकेको संक्रमणकालीन अवस्थामा सुकुम्बासी बस्तीमा डोजर लगाउनु अमानवीय कार्य भएको बताए । उपाध्यक्ष लिला बहादुर मोक्तान अन्तरिम सरकारले आफू जाँदाजाँदै सुकुम्बासी वस्तीमा डोजर लगाएको कार्यले आफूहरुलाई विद्रोह गर्न बाध्य बनाएको बताए । अर्का उपाध्यक्ष धनस्वर लिम्बुले सुकुम्बासीको वर्गीय हित र बस्ती रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे ।
संगठनद्वारा जारी प्रेस विज्ञप्ति वाचन गर्दै महासचिव प्रकाश खरेलले सुकुम्बासीको हक, हित र अधिकारका लागि आफूहरुले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाए । मनहोहर बस्तिका सुकुम्बासी अभियान्ता सिवि लामाले सबै बस्तीहरुको रक्षा गर्न सुकुम्बासीहरु एक हुनुपर्ने धारणा राखे । टोखा नगरपालिका वडा नम्बर ७ दाहालगौंडा बस्तीका पीडित दलबहादुर खड्काले आफूहरु २०५८ सालदेखि सो बस्तीमा बस्तै आएको, सोही ठाउँबाट नागरिकता र मतदाता परिचय पत्रसमेत बनेको, राष्ट्रिय भूमि आयोगमा निवेदन दिई प्रमाणीकरण प्रक्रियमा रहेको आवस्थामा नै एक्कासी डोजर लगाउँदा विल्लिबाठ भएको बताए । खड्काले सुत्केरी, वृद्ध, बालबालिका खुल्ला आकाशमुनी बस्न बाध्य भएको दुखेसो व्यक्त गरे ।
२०८२ फागुन २८ गते काठमाडौँ महानगरपालिका वडा नं. ७ को सिफल र मिति २०८२ चैत्र ९ गते विहानै काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडा नं. ७ को दाहालगौँडा, धापासीस्थित सुकुम्बासी बस्तीमा लामो समयदेखि बसोबास गरिरहेका जनताको घरमा बुल्डोजर लागएको थियो ।

प्रतिक्रिया