दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ । गत फागुन २१ गते मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट चुनावी प्रतिस्पर्धामा रहेका ६० उम्मेदवारमध्ये १० जनाले अझै चुनावी खर्चको विवरण बुझाएका छैनन् ।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार खर्च विवरण नबुझाउनेमा निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका आमजनता पार्टीका सीताराम यादव, निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका ढुण्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतीक अधिकारी, नागरिक उन्मुक्ति पार्टी नेपालका झरेन्द्रबहादुर खत्री, आमजनता पार्टीका कृष्णबहादुर सुनार र स्वतन्त्र उम्मेदवार पदमप्रसाद पाण्डे रहेका छन् ।
त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ बाट जनता समाजवादी पार्टी नेपालका शोभा डाँगी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, नागरिक उन्मुक्ति पार्टीका महेश चौधरी र स्वतन्त्र उम्मेदवार भागीराम चौधरी रहेका कुँवरले जानकारी दिए ।
सूचना अधिकारी कुँवरका अनुसार निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार उम्मेदवारले निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र निर्वाचनमा भएको खर्चको विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ । -रासस

प्रतिक्रिया