नेपाल बैंक र ई—कमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता

नेपालखोज २०८२ चैत १९ गते १६:५३

काठमाडौं । नेपाल बैंक र ई—कमर्स अनलाईन प्लेटफर्म दराजबीच भुक्तानी सेवा सम्झौता भएको छ । बैक र दराजबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यही चैत्र २० गते देखि चैत्र २७ गते सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रवन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन् ।

नजिकिदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको हो ।

नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा पाँच सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा सात सय ५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्नेछ र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन । त्यसको लागि ग्राहकहरुले नेपाल बैंकको कुनै पनि शाखा मार्फत इ—कमर्स सक्रिय गर्नुपर्नेछ ।

बैंकले ग्राहकहरुलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया