आठ महिनामा मुलुकको अर्थतन्त्र, दुई खर्बको निर्यात हुँदा १२ खर्ब ८९ अर्बको आयात, घाटा झन्डै ११ खर्ब

काठमाडौं । मुलुकको निर्यात व्यापार बढेको छ । नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो आठ महिनाको प्रतिवेदन अनुसार कुल वस्तु निर्यात २० दशमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब ९१ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५७ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।
राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात २५ दशमलव तीन प्रतिशत र सात दशमलव आठ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३ दशमलव सात प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२÷८३ को आठ महिनामा कुल वस्तु आयात १२ दशमलव पाँच प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः पाँच दशमलव एक प्रतिशत, २१ दशमलव दुई प्रतिशत र २६ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्टसलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, दाल, एम.एस.विलेटलगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ११ दशमलव दुई प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा छ दशमलव दुई प्रतिशतले वृद्धि भएकोे थियो ।
समीक्षा अवधिमा निर्यात आयात अनुपात १४ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव आठ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब २० अर्ब ४१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब १९ अर्ब ४९ करोड बराबरको भएको थियो ।

प्रतिक्रिया