हाइसको ठक्करबाट बालकको मृत्यु

नेपालखोज २०८२ चैत २० गते १९:०५

नेपालगन्ज, (बाँके) । यहाँको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटेपरीमा हाइस गाडीको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । स्थानीय पाँच वर्षीय सुगन रानालाई गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दाङबाट नेपालगन्ज आउँदै गरेको भे१ज १५०५ नम्बरको इभी हाइसले बाटोमा हिँडिरहेका रानालाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

दाङको लमही नगरपालिका–५ का अजय केसीले चलाएको उक्त हाइस बालकलाई ठक्कर दिएर भागेको थियो । भागेको सवारीलाई डुडुवा गाउँपालिकाको कम्दीमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालकको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले विरोध प्रदर्शन गर्दै नेपालगन्ज–अगैया हुलाकी सडक अवरुद्ध पारेका थिए । यसैबीच, यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई सेवाग्राहीबाट अतिरिक्त शुल्क लिएको भन्ने गुनासो आएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया