मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुन: आक्रमण

नेपालखोज २०८२ चैत २५ गते १७:३२

बेरुत (लेबनान) । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताउनुभएको छ ।

इजरायलले बुधबार पनि दक्षिण लेबनानमा आक्रमण जारी राखेको छ । इरान समर्थित सशस्त्र समूह हिजबुल्लाह विरुद्धको कारबाहीको निरन्तरताका लागि आक्रमण जारी राखिएको जनाइएको छ ।

इजरायलले लेबनानमा युद्ध जारी रहेको उल्लेख गर्दै लेबनानको ४० किलोमिटरभन्दा बढी क्षेत्रका लागि निकासी आदेश जारी गरेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार दक्षिणी टायर क्षेत्रमा रहेको भवन खाली गर्ने चेतावनी जारी गरे पछि इजरायलले आक्रमण गरेको जनाइएको छ ।

यसैबीच फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युद्धविरामको स्वागत गर्दै युद्धविरामले लेबनानलाई पूर्ण रूपमा समावेश गरेको सुनिश्चित गर्नु पर्ने इच्छा व्यक्त गरेका छन् ।

पछिलो समयमा इजरायली आक्रमणले एक हजार ५०० भन्दा बढी मानिसको ज्यान लिएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन् ।

लेबनानी अधिकारीहरूका अनुसार, विशेष गरी देशको दक्षिण, पूर्व र बेरुतको दक्षिणी उपनगरहरूमा हिजबुल्लाहको प्रभुत्व रहेको छ । निकासी आदेश जारी गर्दै लेबनानी सेनाले विस्थापित मानिसहरूलाई दक्षिणमा नफर्कन चेतावनी दिएको छ ।

युद्धविरामको घोषणा हुनुभन्दा केही समय अघि दक्षिणी सहर सिडोनमा भएको इजरायली आक्रमणमा परी आठ जनाको मृत्यु भएको थियो । -रासस/एएफपी

प्रतिक्रिया