एनआईबीएल इक्विटी पार्टनर्सको गोर्खाज हिमालयन हाइड्रोमा १५ करोड लगानी सम्झौता

काठमाडौं । एनआईबीएल इक्विटी पार्टनर्सले गोर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड लगानी लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विशेष लगानी कोष (एसआइएफ) को रूपमा दर्ता भएको र एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले गुर्खाज हिमालयन हाइड्रो लिमिटेडमा १५ करोड रुपैयाँको इक्विटी लगानी गरेको हो ।
गुर्खाज हिमालयन हाइड्रो लिमिटेड कोशी प्रदेशको सोलुखुम्बु जिल्लास्थित सोलुदुधकुण्ड नगरपालिकामा निर्माणाधीन ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी हो ।
आयोजनाबाट वार्षिक करिब ३५.४३ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसमध्ये करिब ३३ प्रतिशत उत्पादन सुक्खायाममा हुनेछ ।
आयोजनाले ५.८७५ मेगावाटको सम्पूर्ण विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता पीपीए गरिसकेको छ । उत्पादित विद्युतलाई ३३ केभी प्रसारण लाइनमार्फत तिङ्गला सबस्टेशनमा जोडिने छ ।
एनआईबीएल इक्विटी पार्टनर्सका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने, ‘यो लगानी हाम्रो पोर्टफोलियोमा एउटा महत्त्वपूर्ण उपलब्धि हो। यसले साना आकारका जलविद्युत र स्वच्छ ऊर्जाका क्षेत्रमा लगानी गर्ने हाम्रो रणनीतिक लक्ष्यलाई फेरि एकपटक प्रस्ट पारेको छ । यस्ता आयोजनाले स्थानीय ऊर्जा सुरक्षा र आर्थिक विकासमा ठूलो टेवा पुरÞ्याउने हाम्रो दृढ विश्वास छ ।’
‘माथिल्लो जुनबेसी खोला आयोजनाको यो निकै महत्त्वपूर्ण चरणमा एनआईबिएल इक्विटी पार्टनर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौँ। यो साझेदारीले आयोजनाको निर्माण कार्यलाई अझै गति दिनेछ र यसलाई समयमै सम्पन्न गर्न मद्दत पुरÞ्याउनेछ।’
गोर्खाज हिमालयन हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले भने, ‘हाम्रो यो सहकार्यले दुर्गम क्षेत्रमा भरपर्दो विद्युत आपूर्ति बढाउनुका साथै दिगो र स्वच्छ ऊर्जातर्फको नेपालको दीर्घकालीन सोचलाई साकार पार्न सहयोग पुग्ने विश्वास लिएका छौँ ।’
आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । यस आयोजनाबाट सन् २०२७ अगस्टदेखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया