सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री तिमिल्सिना

नेपालखोज २०८३ वैशाख २४ गते १०:२१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधिको तीव्र विकास र ‘डिजिटल मिडिया’को बढ्दो प्रभावसँगै सञ्चारमाध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सञ्चारमाध्यमप्रति नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारी संस्थानहरुलाई समयानुकूल ढङ्गले थप व्यावसायिक र जिम्मेवार बनाउन आवश्यक रहेको उल्लेख गर्दै संस्थानको हितका लागि कर्मचारीलाई जिम्मेवार र उत्तरदायी भएर काम गर्न निर्देशन दिए ।

लामो समयदेखि बल्झिएका समस्या मात्र औँल्याएर नहुने भन्दै उनले कर्मचारीहरुमा समाधानमुखी सोच र कार्यशैली आवश्यक रहेको बताए । गोरखापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको उनले बताए ।

देशको विविधता र भाषिक सम्पदाले देशलाई समृद्ध बनाएको भन्दै त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री तिमिल्सिनाले गोरखापत्रको लामो इतिहास स्मरण गर्दै समयसँगै पत्रकारिताको शैली, प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएको बताए । गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक, प्रभावकारी र विश्वसनीय बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।

सञ्चारमन्त्री तिमिल्सिनाले गोरखापत्रद्वारा आजदेखि प्रकाशन सुरु भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गरे ।

प्रतिक्रिया