डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी

नेपालखोज २०८३ वैशाख २७ गते २०:३५

लन्डन । सन् २०१८ मा रेकर्ड सुरु भएयता दुई लाखभन्दा बढी आप्रवासीहरू साना डुङ्गामा बेलायतको तटमा आइपुगेका हालै सार्वजनिक पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ ।

स्थानीय चुनावमा आप्रवासन लगायतका राष्ट्रिय मुद्दाहरूको प्रभुत्व बढेपछि यो गणना सुरू भएको बिहीबार आप्रवासन विरोधी पार्टी रिफर्म यूकेले जनाएको छ ।

शनिबार प्रकाशित आन्तरिक प्रशासन कार्यालयको तथ्याङ्कले शुक्रबार एउटा डुङ्गामा ७० जना आइपुगेको देखाएको छ । बेलायत पुग्ने आशा राखेका आप्रवासीहरूका लागि उत्तरी फ्रान्सेली तटबाट बेलायत प्रस्थान हुने गर्छ र सामान्यतया कमजोर र खचाखच भरिएको डुङ्गामा हुने यस्ता यात्राले मानवीय जीवनलाई जोखिममा पार्ने गरेको छ ।

शुक्रबार च्यानल पार गरी आएका आप्रवासीको सङ्ख्यासँगै हालको तथ्याङ्क सङ्कलन गर्न सुरु भएदेखि अहिलेसम्म कुल दुई लाख १३ जनाको आगमन भएको छ ।

सन् २०१८ देखि सन् २०२५ सम्मको सरकारको आधिकारिक तथ्याङ्क र यस वर्षको अहिलेसम्मको अस्थायी तथ्याङ्क प्रयोग गरेर यो तथ्याङ्क गणना गरिएको हो ।

लेबर पार्टीका प्रधानमन्त्री केइर स्टार्मरले यस मुद्दालाई लिएर बढ्दो दबाबको सामना गरिरहनुभएको छ। उहाँका गृहमन्त्री शबाना महमुदले शरणार्थीहरूको सुरक्षामा कटौती गर्ने र शरण खोज्नेहरूको लागि स्वचालित सुविधाहरू अन्त्य गर्ने प्रस्ताव गर्नुभएको छ ।

फ्रान्सेली र बेलायती स्रोतहरूको आधारमा एएफपीको तथ्याङ्कअनुसार सन् २०२५ मा समुद्रमा यात्रा गर्ने क्रममा कम्तिमा २९ आप्रवासीको मृत्यु भएको छ। यस वर्ष थप छ जनाको मृत्यु भएको छ ।

बेलायत र फ्रान्सले गत महिना कागजात नभएका आप्रवासीहरूलाई जोखिमपूर्ण यात्रा रोक्ने प्रयासमा नयाँ तीन वर्षको सम्झौतामा सहमति जनाएका थिए ।

फ्रान्सले कानून प्रवर्तन बढाउने प्रतिबद्धता व्यक्त गरेको थियो र बेलायतले यस प्रयासलाई आर्थिक सहयोग गर्न करोडौँ युरो दिने वाचा गरेको थियो । गत वर्ष ४१ हजार ४७२ आप्रवासी उत्तरी फ्रान्सबाट बेलायतको दक्षिणी तटमा पुगेका थिए ।

सन् २०२२ मा कन्जरभेटिभ पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री ऋषि सुनकको नेतृत्वकालमा ४५ हजार ७७४ आगमनको रेकर्ड गरिएको छ ।

उनले आफू सत्तामा हुँदा आप्रवासीका ‘डुङ्गा प्रवेशलाई रोक्ने’ वाचा गरेका थिए । आफ्नै ‘गिरोहहरू तोड्नुहोस्’ भन्ने नारालाई अवलम्बन गर्दै स्टार्मरले समुद्र पारमा चलिरहेका मानव तस्करी नेटवर्कहरू भत्काएर समस्याको समाधान गर्ने प्रतिज्ञा गरे । उनले अहिलेसम्म उनका पूर्ववर्तीहरूले भन्दा बढी सफलता पाएका छैनन् । –रासस/एएफपी

प्रतिक्रिया