वनमान्छे

तिम्रो कथाको सभ्यताबाट पराजित
अर्को इतिहास हुँ म ।
तिमीले सोचेजस्तो
फरक छैन तिमी र ममा
मात्र यति फरक हो
जस्तो कि
तिमी मरेका सिंहहरुको दरबारमा बस्छौ
म ज्युँदा बाघहरुसितै ओडारमा बस्छु
मलाई जंगलमा बस्दा गर्व छ
तिमी जस्तो निष्प्राण शालिक हुनु छैन
किनकि शालिकको मुटु हुँदैन ।
अहो ! युगौं भइसकेछ
कुनै समय त हामी दुवै
मात्रै मानिस थियौं ।
तर आज
कुनै अल्पसङ्ख्यकको सूचीमा राखेर
तिमीले मेरो अनुहारको व्यापार गर्यो
म बस्ने जंगलमा कानुन लगाएर
तिमीले मेरो घरको अपमान गर्यौं
एकाएक !
मान्छेबाट म वनमान्छे बनाइएँ
तिमी बादशाह बनेर सहर छिरेपछि
म आफ्नै ठेगानामा बेखबर भएँ
एकाएक !
आफ्नै घरको एक हिस्सा गुमाएँ मैले ।
तिमीजस्तो हात फैलाएर म
मागीमागी सत्ता चलाउन जान्दिनँ
र जान्दिनँ आगो सल्काउन
भोका मान्छेका सपनाहरुको छानोमाथि
जंगलमै चल्छ मेरो
समानताको अर्को आदिवासी राज ।
यही पृथ्वीको भूगोलमा फुलेको
म एक वनफूल हुँ
तिम्रो बज्यैले सुनाउँदै आएको
कुनै कथाको एक प्राचीन पात्र
जो म हुँ ।
कुनै दिन म पनि तिमीले जस्तै
यो धरती मेरै पैतालामुनि छ भन्थें
एक्कासि !
यो देशको नक्साबाटै मेट्यौ मेरो नाम
थप्यौ तिम्रा नामहरुको शृङ्खला
र हटायौ भोकजस्तै आदिम सपना ।
ए, सहरको मान्छे,
तिमीले सोचेजस्तो मेटिएको छैन म
ब्लाक बोर्डको अक्षर झैं
अझै बाँकी छु यो धरतीमा
कुनै दरबारमा पस्नुअगाडि
चिलायो भने तिम्रो पैताला
पल्टाएर हेर्नू काठखाने कीरा !
हो, मै हुनेछु त्यो आदिम कीरा
तिम्रो इतिहासको धुलो झारिरहेको
म उही दानबहादुर राउटे
अर्थात् वनमान्छे ।
प्रतिक्रिया