देशभर मनसुन : जेठ ३१ गते वर्षाले उग्ररुप लिने, सावधानी अपनाउन आह्वान
शुक्रबारदेखि सुरु भएको वर्षा लगातार ३ दिनसम्म देशभर हुन सक्ने भएकाले पहिरोको उच्च जोखिममा रहेका पहाडी जिल्लाहरुमा उच्च सतर्कता अपनाउन मौसमविद्हरुको आग्रह

काठमाडौं । नेपालमा मनसुन हिजो (शुक्रबार) देखि भित्रिएको छ । सामान्यत: १० जुनमा भित्रिने मनसुन नेपालमा यस वर्ष ११ जुनदेखि भित्रिएको छ ।
नेपालका मध्य र पूर्वी भेकबाट भित्रिएको मनसुन आज देशभर फैलिएको जलवायु परिवर्तन तथा विपत् व्यवस्थापन विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए । सामान्यत: नेपालमा मनसुन पूर्वबाट प्रवेश गरेर पश्चिममा पुग्नलाई करिब १० दिन लाग्ने गरेकामा यस वर्ष भने एकैदिनमा देशैभर फैलिएको छ ।
उप्रेतीका अनुसार हाल सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरालगायतकामा वर्षा भएको छ । हिजोदेखि सुरु भएको वर्षा लगातार तीन दिनसम्म देशभर हुन सक्ने भएकाले पहिरोको उच्च जोखिममा रहेका पहाडी जिल्लाहरुमा उच्च सतर्कता अपनाउन उप्रेतीले आग्रह गरेका छन् ।
आज काठमाडौं उपत्यकालगायत ओखलढुंगा, पूर्वका ताप्लेजुङ, पश्चिमका सुर्खेतको वीरेन्द्रनगर, जुम्ला, दिपायल, डडेल्धुरा, बैतडी, दार्चुलालगायत पहाडी जिल्लामा बढी वर्षा हुने अनुमान गरिएको छ । यो वर्षा लगातार तीन दिनसम्म हुने र जेठ ३१ गते यसले निकै ठूलो रुप लिएर काठमाडौं उपत्यकासँगै जनकपुर, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोकलगायत भूकम्पले कमजोर भएका जिल्लाहरुमा बढी वर्षा हुने भएकाले पहिरोको जोखिम उच्च छ । उक्त क्षेत्रहरुमा विशेष सावधानी अपनाउन उप्रेतीले आग्रह गरेका छन् । विज्ञ उप्रेतीका अनुसार अहिले सुदूरपश्चिमको कञ्चनपरमा भारी वर्षा भइरहेको छ ।
नेपालमा कुन वर्ष कहिले मनसुन भित्रिएर कहिले बाहिरियो ?
नेपालमा सन् २०१० मा जुन १७ मा मनसुन भित्रिएर १ अक्टोबरमा बाहिरिएको थियो । त्यस्तै, क्रमशः सन् २०११ मा जुन १५ मा भित्रिएर अक्टोबर ७ मा बाहिरियो, सन् २०१२ मा जुन १६ मा भित्रिएर सेप्टेम्बर २८ बाहिरियो, सन् २०१३ मा जुन १४ मा भित्रिएर अक्टोवर १९ मा बाहिरियो, सन् २०१४ मा जुन २० मा भित्रिएर ७ अक्टोवरमा बाहिरिएको थियो ।
त्यसैगरि सन् २०१५ मा सुन १३ मा भित्रिएर ३ अक्टोवरमा बाहिरियो, सन् २०१६ मा जुन १५ मा भित्रिएर अक्टोबर १२ मा बाहिरियो, सन् २०१७ मा जुन १२ मा मनसुन भित्रिएर १६ अक्टोवरमा बाहिरियो, सन् २०१८ मा जुन १ मा भित्रिएर ५ अक्टोवरमा बाहिरियो, सन् २०१९ मा २० जुनमा भित्रिएर १२ अक्टोवरमा बाहिरियो, सन् २०२० मा १२ जुनमा भित्रिएर अक्टोवर १६ मा बाहिरिएर यस वर्ष सन् २०२१ मा जुन ११ मा मनसुन भित्रिएको छ ।

प्रतिक्रिया