नेकपा–कांग्रेस छलफल सहमतिमा टुङ्गियो
३ माघ, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच शुक्रबार बिहान भएको छलफलमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी कानुनलाई छलफल गरेर अगाडि बढाउने सहमति भएको छ ।
भेटवार्तामा सत्य निरूपण र बेपत्ता छनाबिन आयोगका नयाँ पदाधिकारी नियुक्ति र नयाँ कानुन तर्जुमा विषयमा केन्द्रित थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागी नेकपा नेता खिमलाल देवकोटाका अनुसार २८ पुसमा सातवटै प्रदेशमा सरोकारवालासँग छलफल गरेर आएको प्रतिवेदन प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवालाई बुझाइएको छ ।
‘प्राप्त सुझावलाई कानुन मन्त्रालयले विधेयक मस्यौदा गर्ने बारे सहमति भएको छ,’ शुक्रबार बालुवाटारमा सम्पन्न बैठकको निष्कर्ष सुनाउँदै देवकोटाले पत्रकारहरुसँग भने, ‘कानुन मन्त्रालयले मस्यौदा गरेपछि सो मस्यौदा विधेयकका रूपमा संसदमा पेश गरेर ऐन बनाउनेमा सहमति जुटेको छ ।’
बैठकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेता रमेश लेखक, नेकपा नेता खिमलाल देवकोटालगायत सहभागी थिए ।
पटकपटक समय थप्दा समेत सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले काम नसकेपछि गत चैतदेखि दुबै आयोग पदाधिकारीविहीन छन् ।
नयाँ पदाधिकारी चयनका लागि पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा वरिष्ठ अधिवक्ताद्वय रामनाथ मैनाली र प्रेमबहादुर खड्कासँगै शर्मिला कार्की रहेको सिफारिस समिति बनेको थियो । समितिले ६१ जनाको नाम सिफारिस गरेको छ । त्यसमध्ये सत्तारुढ नेकपाले अधिवक्ता गोबिन्द बन्दीलाई अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेको छ भने प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्राध्यापक गणेशदत्त भट्टको नाम अघि सारेको छ ।
प्रतिक्रिया