२६ असारदेखि प्रवेश परीक्षा सुरु गर्ने चिकित्सा शिक्षा आयोगको तयारी
सीसीएमसीले एक साताभित्र आवश्यक निर्णय दिने विश्वास

काठमाडौं । चिकित्सा शिक्षा आयोगले आगामी २६ असारदेखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता डिल्लीराम लुईटेलले २६ असारदेखि ५ दिनसम्म विभिन्न विषयको प्रवेश परीक्षा लिने तयारी भएको जानकारी दिएका छन् ।
त्यसका लागि आयोगले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)संग अनुमति मागिसकेको छ । परीक्षा हुनुभन्दा १५ दिनअघि नै सूचना जारी गर्नु पर्ने भएकोले सीसीएमसीले असारको ८-९ गते आवश्यक निर्णय दिने प्रवक्ता लुईटेलले बताए ।
आयोगले काेराेना संक्रमणदर घटेको अवस्थामा काठमाडौँं उपत्यकामा सेन्टर तोक्ने र स्वास्थ्यका मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्ने प्रस्ताव सिसिएमसीसँग राखेको हाे । आयोगले गत सोमबार चिकित्सा शिक्षा शास्त्रतर्फ स्नातक तहका विभिन्न विषयको अध्ययनका लागि कलेजहरुलाई सिट निर्धारण गरेको थियो ।
पछिल्लो समय आयोगले एकीकृत प्रवेश परीक्षा लिने र छनौट भएका विद्यार्थीहरुलाई प्राप्तांकको आधारमा विभिन्न कलेज रोज्न लगाई भर्नाका लागि सिफारिस गर्ने गरेको छ । यसपटक स्नातक तहका विभिन्न विषयमा ३२ हजार ८ सय जनाले प्रवेश परीक्षाका लागि फारम भरेका छन् । त्यसमा सबैभन्दा बढी अर्थात करीव ११ हजार ३ सय जनाले एमबीबीएसमा फारम भरेका छन् ।
कोभिड १९ को दोस्रो लहर आएसँगै स्नातक तहको भर्ना प्रक्रियामा केही ढिलाई भएको थियाे ।
प्रतिक्रिया