भारतमा ८१ दिनयताकै सबैभन्दा कम काेराेना सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् ।
यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो चौबीस घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ८७ हजार ९१७ रहेको छ ।मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ ।
ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ ।
अहिलेसम्म ९६।२७ प्रतिशत सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरुले जनाएका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड–१९ परीक्षण गरिएको छ ।
ती मध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो । त्यसैगरी भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ ।

रासस
रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।
प्रतिक्रिया