एकीकरण मार्ग पर्यटनका निम्ति महत्वपूर्ण : उपप्रधानमन्त्री पोखरेल
५ माघ, काठमाण्डौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अवधारणाका रूपमा नेपाली सेनाले अघि सारेको ‘एकीकरण मार्ग कार्यक्रम’ ले मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
नेपाली सेनाले मुख्यालयमा आयोजना गरेको एकीकरण मार्गसम्बन्धी तीन दिवसीय ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार’ को समापन समारोहमा आज मन्त्री पोखरेलले नेपाल राष्ट्र एकीकरणको सिलसिलामा प्रयोग भएको ऐतिहासिक सम्पदा र धरोहरलाई समेटेर निर्माण गरिने एकीकरण मार्गले सिङ्गो मुलुक र जनतालाई राष्ट्रिय एकताको भावना जगाउन अभिप्रेरित गर्ने बताए्का छन् ।
उपप्रधानमन्त्री पोखरेलले सरकारको नीति तथा कार्यक्रममा समाविष्ट एकीकरण मार्गको प्रभावकारी प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्ने गरी आगामी कार्यक्रम अघि बढाइने उल्लेख गरे । “एकीकरण मार्ग प्रशस्त अवसर र दृढ आकांक्षासहितको सम्बोधन गर्न सकिने विषय समाहित एक बहुआयामिक कार्यक्रम हो । राष्ट्रिय सम्पदा संरक्षण र प्रवद्र्धनमा एकजुट भई राष्ट्रिय एकताको भावना जागृत गराउने यो कार्यक्रम विभाजन र विखण्डन गर्न खोज्ने तत्वलाई परास्त पार्ने एउटा दरिलो माध्यम पनि हुनसक्छ”, उनले भने । एकीकरण मार्ग कार्यक्रमलाई दीर्घकालीन सोच राखेर विकास गर्न सकिएमा बृहत्तर राष्ट्रिय हितमा योगदान पुग्ने उनको भनाइ थियो ।
नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले शुरु गरेको एकीकरण अभियानमा योद्धाहरुले हिँडेको बाटो, बनाएका दरबार, किल्ला तथा गढीलाई एकआपसमा जोडेर राष्ट्रिय एकताको भावना जागृत गर्ने उद्देश्यले नेपाली सेनाले एकीकरण मार्ग बनाउन लागेको हो ।
‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्षित गरेर नेपाली सेनाले एकीकरण मार्ग निर्माण गर्न लागेको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो जिम्मेवारीसँगै विकास निर्माण, प्राकृतिक प्रकोपको विपत्तिका बेला उद्धार र सहयोग तथा शान्ति प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै एकीकरण मार्गको माध्यमबाट ऐतिहासिक तथा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उपप्रधानमन्त्री पोखरेलले सेमीनारले एकीकरण मार्गको उपादेयता थप प्रष्ट पार्नुका साथै भविष्यका लागि स्पष्ट कार्यदिशा निर्धारण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु,सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
यस प्रकारको सेमिनारबाट प्राप्त हुने प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले एकिकरण मार्ग कार्यक्रम सम्बन्धी दीर्घकालीन र एकीकृत योजना बनाउन सहयोग पुग्नुका साथै राष्ट्रिय एकताको सम्बर्धन र प्रवर्धनमा थप टेवा पुर्याउने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया